एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : एकजना व्यापारीले भन्दै थिए, ‘पहिला जिल्ला भरिकै मतदाता हुन्थ्यो अव जनकपुरको मात्र २५ वडाको मतदाता, माने यो मेयरकै चुनाव न हो ।’ माने यो निर्वाचनले जनकपुरधामको अगामि मेयरको निर्वाचनको रुपरेखा तयार पार्ने काम गर्न थालेको छ ।
जो जित्छ उ स्वभाविक २५ वडाका व्यापारीको नेता हुन्छ, तिनै व्यापारीको नेता जो ति वडाका अगुवा हुन्छन् र कुनै न कुनै रुपमा त्याहाँका आम मतदातासंगको दैनिक सम्र्पक र लेनदेनका सहयात्री पनि हुन्छन् । समाजका पसल सञ्चालन गर्दै आएका व्यापारीहरु संग स्थानियको कुनै न कुनै हिसावले आत्मीय सम्बन्ध हुन्छ, चाहे लेनदेन होस उधारी होस या सहयोग ।
ति २५ वडाका व्यापारीहरुकै नेता भएपछि अनौपचारिक रुपमा समाजकै पनि नेता हुने भए जउबा संघका नेता, ति व्यापारीको तर्क थियो । उनको तर्क कहि न कहि तार्किक पनि छ । एउटा व्यापारी पसलको किनबेचमा मात्र होइन कुनै न कुनै अन्य हिसावले पनि समाजका परिवारहरु संग जोडिएको हुनाले तिनिहरु आम निर्वाचनमा पनि राम्रो प्रभाव पारिरहेको हुन्छ ।
लडने/लडाउने सबैको आ आफनो राजनितिक स्वार्थ
बिचारनिय के पनि छ भन्ने, निर्वाचन लडन उम्मेदवार बनेका र उनीहरुको पर्दा पछाडि रहेको निवर्तमान देखि भुतपुर्व सबै व्यापारी नेताहरुको आ आफनै राजनितिक स्वार्थ हुन्छ नै । फलानोलाई यहाँ जिताए अर्को चुनावमा मलाई सहयोग गर्छ भन्ने राजनितिक रणनितीले पनि हरेक संस्थागत निर्वाचनलाई प्रभाव पारिरहेको हुन्छ ।
जउबासंघको अध्यक्ष भएपछि स्वभाविक रुपमा नगरको अगुवाको रुपमा लिइने गरिएको छ । व्यापारीहरुको नेता हुने भएकाले हरेक दल र त्यसका नेताले उनको सदभाव र सहयोग खोज्ने भएकाले संघको नेतृत्वमा सबैको चासो हुन्छ ।
संघका पुर्व अध्यक्षहरु मध्ये बजरंग प्रसाद साह जनकपुरधामको मेयर भइसकेका छन भने पुर्व अध्यक्षहरु श्याम प्रसाद साह प्रदेश सांसद, शिवशंकर साह हिरा मेयर, निर्मल चौधरी उपमेयर, ललित साह वडा अध्यक्ष, वर्तमान उपाध्यक्ष प्रदेश सांसद सहितका चुनाव लडने गरेका छन् । यिनिहरु केहि उदाहरण पात्र मात्र हुन संघका हरेक अगुवा र पुर्व तथा वर्तमान पदाधिकारीहरु राजनितिमा प्रत्यक्ष रुपमा सक्रिय छन् ।
वर्तमान अध्यक्ष जितेन्द्र महासेठ अनौपचारिक रुपमा जनकपुरधामको मेयरका लागि कसरतमा छन् भने मनिष रमण साहलाई पनि सम्भावित सोहि दृष्टिकोणले हेरिदै छ । अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र भण्डारी नेकपा एमालेका नगर अध्यक्ष नै हुन भने जितेन्द्र प्रसाद साह पनि विभिन्न संघ संस्था, युवा कमिटि, जेसिजको नेतृत्व गर्दै नेपाली कांग्रेसको हरेक गतिविधीमा सक्रिय छन् ।
एकदमै स्पष्ट रुपमा दलिय गन्ध नआउने यस निर्वाचनका उम्मेदवारहरु मात्र होइन उम्मेदवारहरुको जितका लागि पर्दा अगाडि र पछाडीबाट गृहकार्य र रणनिती तर्जुमा गर्नेहरु पनि कुनै न कुनै हिसावले राजनितिक स्वार्थकै कारण सक्रिय रहने गरेका छन् ।





