एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अननशन बसेको आज तेस्रो दिन पनि जारी छ । अनशनको तेस्रो दिन युवाहरुको स्वास्थ्य अवस्था बिग्रिदै गईरहेको छ ।
अनशनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिन कुमार यादवले अनशनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गईरहेको बताए । उनका अनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ । उनले भने ‘युवाहरुको इनर्जी लेवल डाउन भएको छ, शरिरलाई चाहिने तत्व स्लाइन पानीको माध्यमले दिएका छौँ ।’
यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई स्टन्टको संज्ञा दिएको प्रति दुःख व्यक्त गरेका छन् । उनले भने ‘हामी आफ्नो समस्या लिएर अनशनमा बसेका छौँ, मुख्यमन्त्रीजीलाई स्टन्ट लागिरहेको छ भने हामीलाई केही भन्नु छैन ।’
आमरण अनशनमा बसेको ३ दिन भैसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको दुःखेसको प्रविणले पोखे । उनले अनशन बसेको पहिलो दिन भौतिक मन्त्री सरोज यादव भेट्न आएपनि हाम्रो माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।





