एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
धनुषा र सिरहा जोड्ने कमला पूल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।
कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भई सक्दा समेत पूल निर्माण हुन सकेकाले नयाँ पूल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । सिरहाबाट आएका प्रवीण यादवले आफूहरु हुलाकी सडक अन्तर्गत पर्ने कमला पूल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।
अर्का स्थानीय एवं कमला पूल निर्माणका लागि माग गर्दै आईरहेका दिनेश यादवले यस अघि हामीले भासिएको पूल मरम्मत गर भने माग गर्दै आएका थियौँ तर अब हामीलाई नयाँ पूल नै चाहिएको छ बताए । उनले पुरानो पूललाई मरम्मत गर्ने नाममा ३ वर्षभन्दा बढी भई सक्यो अब त्यो पूलको काम छैन हामीलाई नयाँ पूल नै चाहिएको छ भने ।
यता ज्ञापन पत्र बुझ्दै मधेसका मुख्यमन्त्री सतिश सिंहले आफूहरु कमला पूल निर्माणका लागि गम्भिर रहेको बताए । उनले संघ सरकारले अनुमति दिए आफूहरु आफ्नै बजेटबाट पनि पूल निर्माण गर्न तयार रहेपनि अधिकार नरहेकाले अहिलेसम्म कुनै ठोस कदम उठाउन नसकेको बताए । मुख्यमन्त्री सिंहले आफूहहरुले हुलाकी सडक निर्माणका लागि प्रधानमन्त्रीलाई भेटेर समेत जानकारी गराई सकेको प्रतिक्रिया दिए ।
मुख्यमन्त्री सिंहले ७ दिन भित्र पूल निर्माणकालागि प्रकृया अगाडी नबढाइए आमरन अनशनमा बस्ने आन्दोलनकारीहरुको चेतावनीप्रति रोष प्रकट गरे । उनले गत ७ वर्षसम्म प्रदेश सरकार रहे नरहेको जनताले अनभूति नगरेको र आफ्नो नेतृत्वको सरकार आएको २ महिनामै यस प्रकारको अल्टिमेटम दिँदा नियोजित रुपमा आन्दोलनको प्रारम्भ गरिएको जस्तो लागि रहेको आरोप लगाए ।





