एसपी रिपोर्टर
जनकपुरधाम, साउन ६ : असार मसान्त समाप्त भएसंगै अव कुनै कामै नभएको जस्तो अहिले मधेशका मन्त्रालय र खास गरि मधेश सरकार मातहतका निकायहरु सुनशान हुन्छ । यसै बिचमा मधेशका ११ वटै मन्त्रालयमा मुख्यमन्त्री पुगेर छडके हानेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह गुरु पूर्णिमाकै दिन मन्त्रालयहरुको छडकेमा निस्के ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालय सहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण अवलोकन गरेका छन् । प्रदेश सरकारको कार्यालयहरुमा कर्मचारीहरूको लापरबाही बढेको, असार मसान्त पछि निकायहरु बिना कर्मचारी बनेको, हाजरी र उपस्थितीमा लापरवाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले आइतवार विहानै मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् ।
झन गुरु पुर्णिमाको दिन परेकाले विदा सरहनै कर्मचारीहरु निश्चिन्त रहेका दिन भएको छडके पश्चात मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए । हाजरीगरि गायव हुने, एकैदिन प्याकेजमा हाजरी गर्ने, अनुपस्थित रहेको दिनको पनि हाजरी गर्ने र मुख्यमन्त्री कार्यालय भवनको तल देखि माथिल्लो तल्ला सम्म पुग्दै गर्दा पनि हाजरी गर्न भ्याएका उदाहरणहरु मुख्यमन्त्रीले आँखाकै अगाडि भेटे ।
उनले कर्मचारीहरूमा खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता लापरवाही पाइएको बताउदै अव उपरान्त यस्तो पाइए कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् । प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटि भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ समेत मागेका छन् । पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार पहिलो दिनको अनुगमनमा कर्मचारीमा धेरै लापरबाही पाइएकाले देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ । कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन् ।
