एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ :

साउने सोमबारी मेलाको पूर्व सन्ध्यामा कपिलेश्वरनाथ महादेव मन्दिरमा कलशयात्रा सम्पन्न भएको छ । जनकपुरधाम उप महानगरपालिका १६मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिरमा कलश यात्रा सम्पन्न भएको हो ।
कपिलेश्वरनाथ युवा कमिटीद्वारा आयोजित उक्त विशाल धार्मिक अनुष्ठानरूपी शान्ति कलश यात्रा बाबा कपिलेश्वरनाथ महादेव स्थानबाट झाँकी एवं बाजागाजा सहित हजारौंको सहभागितामा गङ्गा सागरमा जल भरेर नगर परिक्रमा गरेर पुनः बाबा कपिलेश्वरनाथ स्थानमा पुगी धार्मिक सभामा परिणत भएको थियो ।

सो सभाको निवर्तमान उप प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री र नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले सम्बोधन गर्दै धार्मिक धरोहर, पुरातात्विक महत्वको, अलौकिक तथा कलात्मक मूर्तिहरू विराजमान यस पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन गर्न गराउन सरोकारवाला निकायहरुलाई विशेष आग्रह गरेका छन् ।

एनले यसको भौतिक पूर्वाधार निर्माणका लागि डीपीआर तयार गरी पठाउन कमिटीलाई आग्रह समेत गरे । सो अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले निवर्तमान उप प्रधानमन्त्री महासेठले आ व २०८१÷०८२ को लागि धनुषामा विनियोजित गराउनु भएको ७७ वटै जिल्लाभन्दा सर्वाधिक बजेटलाई सदुपयोग गर्न गराउन सरोकारवाला निकायलाई आग्रह गरे ।
कार्यक्रममा मधेसका मुख्य न्यायधिवक्ता सुरेन्द्र महतो, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, औरही गाउँपालिका प्रमुख उमाशंकरप्रसाद साह, निवर्तमान नगर प्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठ , जनकपुरधाम उप महानगरपालिका वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पजियार कमिटीका सल्लाहकार एवं पत्रकार श्रीनारायण साह लगायतको उपस्थिति रहेको थियो ।