एसपी रिपोर्टर
जनकपुरधाम, साउन १ :

उच्च अदालत जनकपुरधाम आर्थिक वर्ष २०८०÷०८१मा हालसम्मकै सबै भन्दा बढी मुद्दाको फर्छ्यौट गरेको छ ।
उच्च अदालत जनकपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०÷०८१ मा ६५ प्रतिशत मुद्दा फर्छयौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छयौट गरिएको जानकारी दिइएको छ । तोकेको लक्ष्य अनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट गरेको हो ।
उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०÷०८१मा २ हजार ९ सय ७६ मुद्दा सरि आएक र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ कुल मुद्दा मध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छयौट भएको उनले बताए ।
उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरधामका अर्का न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
उच्च अदालत जनकपुरधाममा जून सङ्ख्यामा मुद्दाको फर्छ्यौट गरेको छ त्यो देशका अन्य उच्च अदालत भन्दा बढी हुने अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शुन्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको छ ।