एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउनका लागि योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
प्रदेश प्रमुख भण्डारीले १०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बीरगञ्ज स्थित भारतीय वाणिज्य दूतावासले बुधबार जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना गरेको योग शिविरमा बोल्दै योग मानव जीवनका लागि आवश्यक रहेको बताइन् । उनले नेपालको हिमालय क्षेत्रमा वैदिक काल देखि नै ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्दै योग तथा प्राकृति चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताइन् ।
प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले निक्कै पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको जानकारी दिदै नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको बताइन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यान तर्फ आकर्षित गर्न जरुरी रहेको बताए ।
उनले युवा सहित सबै वर्गका व्यक्ति स्वस्थ्य भए मात्र राष्ट्र स्वस्थ हुने र मुलुक समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनमा योग तथा प्राकृतिक चिकित्साको निक्कै ठूलो महत्व रहेको बताए ।
नेपालको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउनका लागि प्रस्ताव गरेपछि नेपालसहित १ सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभरि नै योग दिवस मनाउन थालिएको बताए ।
