एसपी रिपोर्टर
जनकपुरधाम, असार ४ :

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारका योजनाहरूमा सहकार्य गर्न सरोकारबाला निकायलाई आह्वान गरेका छन् ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले मंगलबार जनकपुरधाममा गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला तथा अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो आह्वान गरेका हुन् । उनले मधेश प्रदेश सरकारले यस वर्ष ल्याएको नीति तथा कार्यक्रममा र बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, चुरे संरक्षण, विपद व्यवस्थापन लगायतलाई प्राथमिकता दिएको भन्दै यी क्षेत्रहरूमा सहकार्य गरी अघि बढ्न चाहने सरोकारबाला संघसंस्थाहरूका लागि ढोका खुला रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारसँग साधन श्रोत पनि रहेकाले प्रदेशमा प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई समयमा उद्धार तथा राहत दिन चाहेपनि संघीय कानुनमा भएको प्रावधानका कारणले शीघ्र रुपमा गर्न नसकेको बताए । उनले अहिले विभिन्न खोलामा बनेको पुलहरू बालुवा गिट्टीका कारणले पुरिने अवस्थामा पुगेको र ती पुलहरूलाई सुरक्षित गर्नका लागि प्रदेश सरकारले काम गर्न खोज्दा गर्न नपाउने कानूनी व्यवस्था भएको बताए । उनले प्रदेश सरकारले प्राकृतिक विपत्तिमा परेको १ लाख परिवारलाई लक्षित गरेर बिमा गरिदिने गरी बजेटमा कार्यक्रम ल्याएको बताउँदै प्राकृतिक विपत्तिको समयमा काम गर्नका विद्यालय तहमा नै स्वयं सेवक सम्बन्धि प्रशिक्षण दिन आवश्यक भएको बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले बाढीको जोखिम कम गर्न पानीको बहाब सहज बनाउन ढलको निकास आवश्यक रहेको बताए । यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।