एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ :

आर्थिक वर्ष २०८१÷०८२का लागि मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा पेश गरिएको छ । मधेसका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभा बैठकमा निति तथा कार्यक्रम पेश गरेकी हुन् ।
आर्थिक वर्ष २०८१÷०८२का लागि पेश गरिएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, पर्यटन, वन , सुशासनलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा मधेशका १३६वटै पालिकालाई लक्षित गरेर नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ ।

मधेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १÷१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापन पर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्दै मितव्ययी शासन व्यवस्था सञ्चालनका साथै विकास खर्च बढाउने नीतिलाई उच्च प्राथमिकतामा राखिएको छ । विवाहमा हुने गरेको अनावश्यक खर्च नियन्त्रणका लागि सामूहिक विवाह कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।
प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको छ । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१÷०८२ मा घुमौ मधेश–बुझौ मधेश कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

सरकारको तर्फबाट मंगलबार साँझ मधेश प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रबद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । मधेशमा पर्यटन प्रबद्र्धनका लागि पर्यटन बोर्ड गठनदेखि जयनगरबाट रेल चढेर आउने पर्यटकलाई एकैठाउँमा बस्ने व्यवस्था हुनेगरी धर्मशाला निर्माणसम्मको योजनालाई प्राथमिकतामा राखिएको नीति सरकारको छ ।
‘भारतीय नाकामा भारतबाट आउने पर्यटकलाई थप आकर्षित गर्नका लागि विश्रामस्थल निर्माणगरी प्रदेशमा घुम्ने स्थानहरुको वारेमा जानकारी सहितको नक्सा र सहज रुपमा सीमकार्डको व्यवस्था लगायत कार्य गरिनेछ’ प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘राजमार्ग क्षेत्रमा क्यासिनो र ग्रामिण क्षेत्रमा होमस्टेको प्रबन्ध गरिनेछ ।’
मिथिला क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन, ग्रामिण भेगमा ग्रामिण पर्यटन, नदी तथा वन क्षेत्रमा साहसिक पर्यटन र राजमार्ग क्षेत्रमा मनोरञ्जनात्मक पर्यटनका कार्यक्रमहरु सञ्चालन गरिने नीति सरकारको छ । त्यस्तै, रुपनीमा केवुलकार सञ्चालन गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गरी सामुहिक विवाहका कार्यक्रम सञ्चालन गर्न सरकारले अनुदानको व्यवस्था गर्ने जनाएको छ ।
२०८१÷०८२ को नीति तथा कार्यक्रममा दुव्र्यवसनमा परेका युवाहरुमा सुधार ल्याउन विशेष जोड दिन लागेको हो ।
दुव्र्यवसनमा परेका युवाहरुलाई नशामुक्त गर्न प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापना गर्ने प्रदेश प्रमुख भण्डारीले घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘सर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागु औषध दुव्र्यवसन न्यूनिकरण गर्न विशेष नीति ल्याइनेछ,’नीति तथा कार्यक्रममा उल्लेख छ,‘लागु पदार्थको दुव्र्यवसनमा परेका युवाहरुलाई ओरल सवसिटियुसनल थेरापीसहितको प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापनिा गरिनेछ ।’
आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा बालश्रम न्यूनिकरण गर्ने नीति समेत लिइएको हो ।
‘बचपन बचाउ, जिवन जोगाउ’ नारासहित बालश्रम न्यूनिकरण गर्ने सरकारले नीति लिएको छ । मधेशमा जताततै देखिने बालश्रम रोक्न सरकारले नया कार्यक्रम ल्याएको छ ।
मधेश प्रदेशमा आगामी ११ औँ राष्ट्रिय खेलकुद कार्यक्रमको आयोजना गरिने नीति तथा कार्यम्रमा उल्लेख गरिएको छ ।