एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ : 

युवाहरुलाई कानून तथा सार्वजनिक निति निर्माण प्रकृयामा सहभागी गराउने उद्देश्यले मधेस प्रदेशमा युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम मधेसमा पहिलो पटक संचालनमा रहेको छ । पोखरा रिसर्च सेन्टर र अमेरिकी दूतावासको सहयोगमा मधेस प्रदेशका युवाहरुलाई कानून तथा निति निर्माणमा सरिक गराउने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याइएको छ । पछिल्लो समय नेपालमा संघियताको विषयमा उठ्न थालेको कुप्रचारलाई समेत निश्प्राभावि पार्नका लागि यो कार्यक्रम संचालनमा ल्याइएको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले जानकारी दिए ।

फेलोसिप कार्यक्रमका लागि आवेदन आह्वान गरिएकोमा मधेसमा ३ सय भन्दा बढी आवेदन परेको थियो । आवेदकहरु मध्येबाट सुरुको चरणमा ५० जना लाई छनौट गरी पहिलो तहको तालिम दिइएको थियो जसबाट २६ जनालाई छनौट गरि दोस्रो तहको तालिममा सहभागी गराइएको छ । अन्तिम चरणमा १२ जनालाई छनौट गरी तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसंग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइने नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साहले बताए ।

तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्नेछन ।
सन् २०२०÷२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमाडौंको सहयोगमा संचालन गरेको थियो । २०२१÷२२ मा कर्णाली प्रदेशमा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन संगको सहकार्यमा यस कार्यक्रम संचालन गरिएको थियो भने गण्डकीमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो ।