एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ :
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको आरोप लगाएका छन् ।
जनकपुरधाममा मधेस प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम महाधिवेशनको उदघाटन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष सिंहले राज्यकै गलत नितिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुगेको आरोप लगाए ।
कोरोना संक्रमणको समयमा प्रत्येक क्षेत्र प्रभावित भएको समयमा सरकारले निर्माण व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखेर कुनै प्रकारको सहुलियत नदिँदा कतिपय निर्माण व्यवसायीहरुको अवस्था नाजुक भएको अध्यक्ष सिंहले बताए । राज्यले त्यो समयमा ब्याजदरमा सहुलियत तथा समय सीमा थप गरेको भए निर्माण व्यवसाय यसरी धाराशायी नहुने थियो उनको भनाई थियो ।
सरकारले आर्थिक सङ्कटको व्यवसायीहरू मारमा परिरहेको अवस्थामा निर्माण क्षेत्रको ठेक्का सम्झौताको म्याद थप गर्दा समेत सो अनुसार कर्मचारीहरूले काम नगर्दा म्याद थप हुन नसकेको उनले बताए । समृद्धिको संवाहक निर्माण व्यवसायी भए पनि सरकारका नीति नियमहरू सो समायानुकूल नहुँदा थप जटिलता देखिएको उनको भनाई छ । पछिल्लो समयमा सार्वजनिक खरिद नियमावलीमा अझै त्रुटीहरु रहेको उनले गुनासो गरे ।
उनले निर्माण उद्योगहरूको मूल समस्या ‘लो बिड’ रहेको टिप्पणी गरे । समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्नेको निर्माण व्यवसायीको साथमा महासंघ नरहेको उनले स्पष्ट गरे । ठेक्का हाल्ने वैज्ञानिक विधि आवश्यक रहेको र प्रक्रिया नपुगेको ठेक्का रद्द गर्नु पर्ने उनले बताए ।
त्यस्तै साना निर्माण व्यवसायीहरुलाई उपभोक्ता समितिको आडमा विस्थापित गर्ने काम भईरहेको अध्यक्ष सिंहले आरोप लगाए । निर्माण व्यवसायी सबल नभए मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने भएकाले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न सरकार संग आग्रह समेत गरे । उनले पछिल्लो समय निर्माण व्यवसाय धाराशायी हुँदा मुलुकको अर्थतन्त्र समेत धाराशायी भएको उदाहरण दिँदै यो क्षेत्रलाई सबल बनाउने तर्फ काम गर्नु आवश्यक रहेको बताए ।





