एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ :
मधेशको विभिन्न जिल्लामा महिला हिंसाको घटना निरन्तर बाहिरदै छ । महिला हिंसा यहाँ सम्म जडा गाडेको छ कि यस्ले साधारण नागरिक होइन नेताहरुको घर समेत बक्सेको छैन । नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य सुरेश ठाकुरकी भतिजि संग विहे गरेका युवकले एक वर्षमै अर्की श्रीमति भित्राएर जेठीलाई यातना दिदै संगै नराख्ने भन्दै पिडा दिइरहेको घटना बाहिरएको छ ।

साविक धनुषाको सबैला ११ ईनर्वा र हाल जनकपुरधाम–२४ कटैयाचौरी बस्ने नेता ठाकुरको दाजु राजेश ठाकुरकी छोरी अनिसाको विवाह महोत्तरी पिपरा गाउँपालिका–५ हर्दियाका श्रीनारायण ठाकुरका छोरा शुभाष ठाकुरसँग २०८० वैशाख ८ गते भएको थियो । मैथिली रितिरिवाज र विधि विधान अुनसार खुसी खुसी करिव ३५ लाखको कुल खर्चमा भएको विवाह एक वर्ष नपुग्दै धरापमा परेको छ ।

बैदेशिक रोजगारमा रहेका श्रीनारायण ठाकुरको छोरा शुभाष विवाह गरेको एक वर्ष नपुग्दै अर्की श्रीमति भित्राएर अनिसालाई यातना दिन थालेका छन् । विवाहको दश दिनपछि १८ वैशाखमा अनिशाको ससुरा श्रीनारायण रोजगारका लागि विदेश उड्नुपर्ने थियो । बुबालाई छोड्न सुभाष काठमाडौं गए ।

बुबा विदेश उडिसकेपछि २० वैशाखमा सुभाष काठमाडौंबाट घर फर्किए । २४ गतेसम्म अनिसा–सुभाषको वैवाहिक सम्बन्ध ठीकठाक थियो । त्यसपछि सुभाषले एक्कासी अनिसाको बुबा राजेशलाई फोन गरेर ‘म तपाईंको छोरीलाई राख्दिनँ, लिएर जानुस’ भने । राजेशले किन नराख्ने भनेर सुभाषलाई प्रतिप्रश्न गर्दा सुभाषको जवाफ थियो,‘तपाईंकी छोरी लाटी छन्, त्यसैले राख्दिनँ ।’

राजेशले आफ्नी छोरी लाटी भए नभएको पुष्टि डाक्टरले गर्ने भएकाले चेकजाँचका लागि आफू तयार रहेको बताए । तर, उनीहरूले केही सुनुवाइ गरेनन् । ज्वाँईको त्यो एक–दुई मिनेटको टेलिफोन कलले राजेशको परिवारमा भुइँचालो गयो । राजेश आफना भाई सुरेश सहित आफन्तहरूलाई लिएर पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षलाई भेटे । छोरीसँग भएको घटनाको वृत्तान्त सुनाए । वडाध्यक्षले सुभाष र उनकी आमालाई बोलाएर विवाह गरेर अनिसालाई किन नराखेको भनेर प्रश्न गरे । उनीहरूले फेरि त्यही जवाफ फर्काए ।

वडाध्यक्षले ‘पाँच जनाले फेरि केटी हेर्ने र उनीहरूले दिने निर्णय मान्य हुन्छ कि हुँदैन ?’ भनेर सुभाष र उनकी आमालाई प्रश्न गरे । दुवै जनाले हुन्छ भन्दै सहमति जनाए । वडाध्यक्षको रोहवरमा बेहुलीसंग पुनः पुछताछ र अनुसन्धान भयो कुराकानी ग¥यो । सुभाष परिवारको आरोप अनुसार अनिसामा कुनै समस्या देखिएन । उनीहरूले अनिसालाई घर भित्र्याउन सुभाष र उनकी आमालाई सुझाव दिएपनि उनीहरु तयार भएनन् । कारण थियो– शुभाषको अर्को विवाह । कतैबाट कुनै सुनुवाइ नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै काका सुरेश ठाकुर सोमबार अनिसालाई लिएर पत्रकारहरू माझ पुगे । सुरेशका अनुसार एकजना महिलाको जिन्दगी यति सस्तो देखियो सुभाषको दोस्रो विवाह गराउन उनकै आमा, मामा अरुण ठाकुर र दोस्रो बेहुलीकी आमाकै मिलोमतो छ ।

अनिसालाई स्वीकार गरेर घर भित्र्याउने सहमति भए पनि केटापक्ष तयार नभएपछि आफूहरू बहुविवाहको मुद्दा प्रक्रिया अगाडि बढाउन बाध्य भएको सुरेश बताउँछन् । जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गर्न निवेदन दिए पनि निवेदन लिन अस्वीकार गरेको सुरेशले बताए ।

‘महिला सेलको सई थिए भरत ठाकुर, उहाँलाई हामीले पटक–पटक अनुरोध ग¥यौं, सँधै मिलाउँदै छु भन्नुभयो । केही सुनुवाइ भएन,’ उनी भन्छन्,‘सई भरत ठाकुर केटापक्षको आफन्त हो कि पैसाको चलखेल भएको हो मलाई थाहा भएन ।’ आफूहरूले छोरीलाई बुहारीको मान्यता दिन अनुनय विनय गरिरहेकै बेला मंसिर २६ गते राति कुटपिट गरी केटापक्षले अनिसालाई जनकपुरधामको माछा बजारनजिक अलपत्र अवस्थामा छाडेर गएको सुरेशले बताए ।

सुरेशले तत्काल महोत्तरीका डिएसपीलाई फोन गरेर घटनाबारे जानकारी गराए । उनका अनुसार डिएसपीले छोरीलाई अहिले घरमै राखेर भोलि जिल्ला प्रहरी कार्यालय आउन भनेका थिए । २७ मंसिरमा अनिसाको परिवारले शुभाषविरूद्ध किटानी जाहेरी दर्ता गराए । तर, शुभाष भने अझै प्रहरीको फन्दामा परेका छैनन् । प्रहरीले शुभाष फरार रहेको भन्दै पन्छिन खोजिरहेको छ भने शुभाष हरेक राती घरमा आएर विहान पुनः लुक्ने गरेको उनीहरुको अरोप छ ।

शुभाषलाई भगाउन सई भरत ठाकुरको प्रमुख भूमिका रहेको सुरेशको दाबी छ । शुभाषले दोस्रो विवाह गरेको भनिएको केटीसँग प्रहरीले सोधपुछ गरेको छ । गर्भवती रहेकी उनले शुभाषसँग आफ्नो विवाह भएको स्वीकारेकी पनि छन् । आफ्नी भतिजीसँग विवाह गरेर पनि फेरि अर्को विवाह गरेकोले शुभाष विरूद्ध बहुविवाहको मुद्दा दर्ता गर्न चाहेका छन् । तर, मुद्दा प्रक्रियामा नगएर मिलापत्रका लागि आफूहरूमाथि दबाब आइरहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोतरी महिला शेलका तत्कालिन प्रमुख सई लेखनाथ खनालले शुभाषले दोस्रो विवाह गरेको भनिएकी केटीलाई आफुले उद्दार गर्दा उनले विवाह स्वीकार गरेको भएपनि उनलाई अहिले के कति कारणले रिहा गरिएको हो आफुलाई थाहा नभएको बताए । बहुबिबाह कसुरसम्बन्धी कानुनी व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुबिबाह कसुरसम्बन्धी व्यवस्थामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले पनि विवाह गर्न नहुने गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।