पुरन रौनियार
जनकपुरधाम, फागुन २७ : मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा, जस्मा नाङ्गो खुट्टा १ सय ३३ किलोमिटर यात्रा पैदल तय गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ उच्चारण गर्दै नेपालका ११ र भारतको ४ धार्मिक स्थलमा गरि १५ विश्राम स्थलमा राती विश्राम गरि सो दुरी तय गर्ने यस धार्मिक यात्राले नेपाल भारतको सम्बन्धलाई समेत प्रगाढ गरेको छ ।
लयवद्व ‘जय सियाराम जय जय सियाराम’ को जाप गर्दै नेपालको १ सय ५ र भारतको २८ गरि कुल एक सय ३३ किलोमिटर लामो पैदल धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । आइतवार मिथिला विहारी नगरपालिकाको कचुरी स्थित मिथिला विहारी मन्दिरवाट मिथिला विहारी जीको डोला निस्कए संगै परिक्रमा शुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला सोमवार विहान भारतको कल्याणेश्वर विश्रामका लागि प्रस्थान गर्ने छ ।
जानकारहरुका अनुसार करिव सन् १८९० तिर साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो । सो समयमा बन जंगलका बाघ भालुले यहाँ बस्ने साधुसन्तलाई आहारका रुपमा आक्रमण गरि खाने गरेकाले त्यस्ता जनावरहरुलाई धपाउनका लागि साधुसन्तहरुले परिक्रमाको थालनी गरेको विश्वास गरिन्छ । तत्कालिन मिथिला विहारी मन्दिरका जिउदै समाधि लिएका महन्थ लाढली लाल जी शरण तथा जनकपुरधाम स्थित रत्नसागर स्थानका महन्थ बाबा नारायण दासजीहरुले मिलेर परिक्रमा शुरु गरेको बताइन्छ ।
दुईजना महन्थहरु केहि मात्र साधुसन्तहरुलाई लिएर टाँउकोमा डोला राखी परिक्रमा गर्ने गरेका थिए । परिक्रममाको क्रममा समेत केहि साधुसन्तहरु जनावरको सिकार समेत भएको जानकारहरु बताउछन् । महन्थ लाढली लाल जी शरण विरामी भएपछि केहि वर्ष स्थगित भएको परिक्रमा उनी पुन स्वस्थ्य हुँदा पुनः सुचारु गरे । त्यसपछिका मिथिला विहारीका महन्थ स्व. नवल किशोर शरणले परिक्रमाको खुवै प्रचार प्रसार गरे र विस्तार रुपमा परिक्रमा शुरु गर्न थाले । यस परम्परालाई हालका महन्थ राम नरेश शरणले समेत निरन्तरता दिइरहेका छन् ।
महन्थ शरणका अनुसार गत वर्ष १२ लाख तिर्थालु सहभागि भएको परिक्रमामा यस वर्ष २० लाख सम्मको सहभागिता रहने अपेक्षा गरिएको छ । मिथिलाञ्चल क्षेत्रको मध्य भु–भाग जो राजर्षि राजा जनकको दरबार क्षेत्र मानिथ्यो रावणको अत्याचार बढेपछि राजा जनकले भगवान शिवलाई सहयोगको गुहार गर्दा भगवान शिव भारत विहारको कलानेश्वरनाथ, महोतरीको जलेश्वरनाथ, धनुषाको क्षिरेश्वरनाथ र सप्तेश्वरनाथको रुपमा दरवारको चारवटै कुनाहरुमा विराजमान भई मध्य मिथिला दरवार क्षेत्रको सुरक्षा गरेको हुनाले सोहि चार शिवालयहरुको परिक्रमा गर्ने भएकाले यसलाई मिथिला मध्यमा परिक्रमा समेत भनिएको हो ।
परिक्रमा शुभारम्भ कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता यादव, मिथिला विहारी नगरपालिकाका मेयर, उपमेयर सहितको उपस्थिती रहेको छ ।

परिक्रमामा नाङ्गो खुट्टा सहभागी हुने भएकाले शरिरको रतmसञ्चार ठिक भई स्वस्थ्य हुने, मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक र बैज्ञानिक मान्यता रहेको छ । मठमन्दिरका साधुसन्तहरु सहित भजन किर्तन गर्दै दुई देशका गाँउ टोलका स्थानियहरु विश्राम स्थलमा एकै ठाँउ भण्डारा बनाएर विहान बेलुकी खाने गरेकाले आपसी समझदारी र सदभाव समेत समाजमा कायम हुने विश्वास छ ।
कचुँरीबाट डोला प्रारम्भ हुँदा ठेरा कचुँरीमा स्थानियको उल्लाख देखियो । घर घरबाट फुल, लड्डु प्रसाद र रंग अविर सहित स्थानियहरु डोलाको स्वागत गरेका छन् । मन्दिरबाट डोलाको प्रारम्भ गर्दै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र मधेश प्रदेश सरकारकी उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले मिथिला माध्यमिकी परिक्रमा मिथिलाको पहिचान र सभ्यता संग जोडिएको विषय भएकाले यसमा कसैले पनि राजनिति गर्न नहुने बताए ।
परिक्रमा मार्गमा पर्ने सम्पुर्ण गाँउवासीहरु समेत घरघरवाट साधुसन्त र तिर्थयात्रीहरुका लागि भोजन, भण्डारा तथा बसोबासको विभिन्न सरसमान सहयोग गरि धर्मको भागी बन्ने गर्छन । परिक्रमामा भु–भाग र सहभागिता समेत नेपाल र भारत दुवै देशको हुने भएकाले दुई देशको शुमधुर सम्बन्ध समेत परिक्रमाले स्थापित गरेको छ । १५ दिवसीय परिक्रममा सहभागि हुन नसकेकाहरु परिक्रमाको अन्तिम दिन हुने जनकपुरधाम नगरको अन्तरगृह परिक्रमामा समेत सहभागी भए सोहि बराबरको धर्म र फल प्राप्त हुने विश्वास छ ।
अव त मिथिला विहारी मन्दिर रहेको कचुरीवासीहरु समेत कचुरी गाँउको परिक्रमा गरे सोहि बराबरको फल प्राप्त हुने भन्दै गाँउको परिक्रमा समेत शुरु गरेका छन् । मिथिला विहारी सहित जनकपुरधाम स्थित रत्नसागर र सुन्दर सदन अग्निकुण्ड सहितका विभिन्न मन्दिरहरुवाट निस्कने रामजानकीको डोलाको अगुवाईमा कचुरीवाट रत्नसागर जानकी मन्दिर हुदै आज राती हनुमानगढीमा विश्राम गरि भोली विहान विहारको कलना स्थित कल्यानेश्वर महादेव स्थानमा राती विश्राम गर्ने छ । कलना पछि महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही र पुनः भारतको विसौल तथा पुनः कलानेश्वर हुँदै जनकपुर आइपुग्ने छ । प्रत्येक विश्रामस्थलमा धार्मिक धरोहरहरु छन जस्को आफनै इतिहाँस र पौरानिक विशेषता छ ।
फुलहरमा राम र सीताबीच पहिलो मिलन भएको विश्वास छ भने मटिहानीमा विष्णुको प्रख्यात मन्दिर छ । कञ्चनवनमा राम र सीता फागु खेलेको किम्वदन्ती छ । सीता स्वयम्वरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको किम्वदन्ती छ भने सतोषरमा सप्तऋषिको आश्रम रहेको विश्वास छ । फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट शुरु भएको परिक्रमा फागुन पुणिर्माका दिन जनकपुरधाम नगरको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पुरा गर्दै रंग अविर र होली खेल्दै घर र्फकने गर्छन् । फागुन पुर्णिमाकै दिन होली मनाइने भएपनि परिक्रमाकै कारण तिर्थयात्रीलाई आराम गर्ने समय दिइयोस भन्दै मिथिला र मधेशमा त्यसको भोली पल्ट मात्रै होली मनाइने परम्परा छ ।
त्यसो त परिक्रमाको सातौं विश्राम स्थल महोतरीको कञ्चनवनमै भगवान सितारामले होली खेलेकाले परिक्रमा कञ्चनवन पुगेकै दिन देखि मिथिलाञ्चलनमा विधिवत होली खेल्न शुरु भएको जनविश्वास पनि छ । दुई मित्र देश नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाएको यस तिर्थयात्राको विकास र प्रचार प्रसार तथा तिर्थयात्रीलाई हुने समस्याको समाधान गर्न राज्य पहल गर्न आवयश्क छ ।


