एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० :
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टी अहिले विभाजित अवस्थाबाट गुज्रिरहेको बताएका छन्। नेपाली कांग्रेसको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधरबीच विभाजनको अवस्था सिर्जना भएको उल्लेख गरे।
निधिले गत फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रम नगर्न आग्रह गरिएको भए पनि विशेष महाधिवेशन आयोजना गरिएकाले पार्टी कमजोर बनेको दाबी गरे। वर्तमान परिस्थितिमा दुवै पक्षबीच एकता अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले नेपाली कांग्रेसलाई पुनः एकताबद्ध बनाउने मुख्य आधार १५औँ महाधिवेशन रहेको उल्लेख गर्दै दुवै पक्ष मिलेर महाधिवेशन सफल बनाउनुपर्ने बताए। पार्टीभित्रको विवाद अन्त्य गरी संगठनलाई सुदृढ बनाउने एक मात्र उपाय एकता रहेको उनको धारणा थियो।

निधिले वर्तमान सभापतिले प्रतिशोध र दुराशयका साथ पार्टी सञ्चालन गरिरहेको आरोपसमेत लगाए। उनले प्रतिशोधपूर्ण ढंगले पार्टी सञ्चालन हुन नदिने बताउँदै कांग्रेस कमजोर हुँदा जनताका अधिकार कमजोर हुने, लोकतन्त्रमा असर पर्ने तथा राजनीतिक अस्थिरता बढ्ने दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री उमाकान्त चौधरीले चुनावको मुखमा विशेष महाधिवेशन गरिएकै कारण पार्टीले वर्तमान अवस्था भोग्नुपरेको टिप्पणी गरे। उनले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी विशेष महाधिवेशन पक्षधरले लिनुपर्ने धारणा राखे। यद्यपि, पार्टीभित्र एकता कायम गर्नुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए।

कार्यकर्ता भेलामा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, पूर्व केन्द्रीय सदस्य मोहन बस्नेत, मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला सभापति, क्षेत्रीय सभापतिलगायत ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।





