एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० : ग्यास बिक्रेता संघ धनुषाको छैटौँ वार्षिक साधारणसभा ग्यास आपूर्तिमा देखिएको समस्या, व्यवसायीहरूको हकहित तथा संघको सांगठनिक र आर्थिक अवस्थाबारे छलफल गर्दै सम्पन्न भएको छ।
साधारणसभामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको अभाव, धनुषाका ग्यास बिक्रेताले भोगिरहेका समस्या तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
संघका अध्यक्ष फुलदेव पण्डितले देशभर देखिएको ग्यास अभावको असर धनुषामा पनि परेको बताउँदै अधिकांश ग्यास कम्पनीबाट पर्याप्त आपूर्ति हुन नसक्दा जिल्लाका व्यवसायीहरू मुख्यतः नोबेल ग्यासमा निर्भर हुन बाध्य भएको बताए। यसका कारण उपभोक्ताले समेत विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो।
अध्यक्ष पण्डितले ग्यास आपूर्तिलाई सहज बनाउन विभिन्न ग्यास कम्पनीसँग समन्वय र सहकार्यको पहल गरिने जानकारी दिए। उनले ग्यास बिक्रेता तथा उपभोक्ताको सुरक्षासँग सम्बन्धित विषयमा समेत छलफल गरिएको र सुरक्षा सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए।
साधारणसभामा ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्याल, नोबेल ग्यासका प्रबन्धक मनोज श्रेष्ठ, नेपाल ग्यासका प्रबन्धक रामकृष्ण सापकोटा, संघका सदस्य तथा जिल्लाका ग्यास बिक्रेताहरूको सहभागिता रहेको थियो।
साधारणसभाले ग्यास आपूर्तिलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूबीच समन्वय बढाउने तथा देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने निष्कर्ष निकालेको संघले जनाएको छ।





