एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० :
सर्लाहीको हरिपूर्वास्थित नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाले वित्तीय पहुँच विस्तार तथा आर्थिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागी सदस्यहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, ऋणको सही सदुपयोग, उद्यमशीलता विकास तथा समूह सुदृढीकरणसम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै वित्तीय अनुशासन कायम गर्ने, नियमित बचत गर्ने तथा समयमै ऋणको किस्ता भुक्तानी गर्ने बानीको महत्वबारे सहजीकरण गरिएको थियो।
संस्थाका प्रतिनिधिहरूले लघुवित्त सेवामार्फत सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न वित्तीय ज्ञान र सीप आवश्यक रहेको बताए। बचत तथा लगानीको उचित व्यवस्थापनले आयआर्जन वृद्धि गर्नुका साथै आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्य तथा समूहहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित सदस्य तथा समूहहरूको योगदानले अन्य सदस्यहरूलाई समेत सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार यस्ता वित्तीय साक्षरता कार्यक्रमले सदस्यहरूमा आर्थिक चेतना अभिवृद्धि गर्नुका साथै उद्यमशीलता प्रवर्द्धन र वित्तीय समावेशीकरणलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ।
रेखा देवीको अध्यक्षतामा आयोजित कार्यक्रममा हरिपूर्वा नगरपालिकाका नगरप्रमुख पदका प्रत्याशी जयप्रकाश यादव, बालिष्टार यादव तथा शाखा प्रमुख राजेश कुमार सिंहलगायतको उपस्थिति रहेको थियो।





