एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले सात महिनादेखि तलब तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।
प्रयोगशालाकर्मीहरूको संयुक्त संघर्ष समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ को कार्तिक महिनादेखि हालसम्म तलब भुक्तानी नभएको, चाडपर्व भत्ता उपलब्ध नगराइएको तथा चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद नवीकरण प्रक्रिया टुंगो नलागेको जनाएको छ।
संघर्ष समितिका संयोजक मोहम्मद साजिद राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै ठोस समाधान नभएको गुनासो गरे। लामो समयसम्म पारिश्रमिकविहीन अवस्थामा सेवा दिन बाध्य बनाइनु श्रमिक अधिकारमाथिको गम्भीर अन्याय भएको उनको भनाइ छ।
माग सम्बोधन नभए असार १ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरिने समितिले जनाएको छ। आन्दोलनअघि नै समस्याको समाधान गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रयोगशालाकर्मीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराउँदै बाँकी तलब तत्काल भुक्तानी गर्न, सेवा सम्झौता नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्।
त्यसैगरी, आगामी आर्थिक वर्षदेखि तलब तथा सेवा–सुविधाका लागि पर्याप्त बजेट सुनिश्चित गरी नियमित भुक्तानीको व्यवस्था गर्न, आर्थिक वर्षको सुरुवातमै सेवा सम्झौता नवीकरण प्रक्रिया सम्पन्न गर्न तथा प्रयोगशालाकर्मीहरूको सेवा, सुविधा र पेशागत सुरक्षाका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्।





