एसपी रिपोर्टर
जनकपुरधाम, असार २ :
मधेश प्रदेशका १३६वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशालाकर्मीहरूले तलब नपाएको भन्दै जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धर्ना प्रदर्शन गरेका छन् ।
सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै प्रयोगशालाकर्मीहरुले धर्ना तथा रैली प्रदर्शन गरेका हुन् ।
आर्थिक वर्ष २०८२÷०८३को कार्तिक महिनादेखि हालसम्म तलब भुक्तानी नभएको, चाडपर्व भत्ता समेत नपाएको तथा चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद नवीकरण प्रक्रिया टुंगो लाग्न नसकेको भन्दै आफूहरुलाई आन्दोलनमा उतरिनु परेको प्रयोगशालाकर्मी अनिल महतोले बताए ।

प्रयोगशालाकर्मीहरूले आफ्नो समस्याबारे सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस समाधान नआएको गुनासो प्रयोगशालाकर्मीहरुको संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले गरे । लामो समयसम्म पारिश्रमिकविहीन अवस्थामा सेवा दिन बाध्य बनाइनु श्रमिक अधिकारमाथिको गम्भीर अन्याय भएको संघर्ष समितिका संयोजक राइनले आरोप लगाए ।
आफूहरुको माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने प्रयोगशालाकर्मीहरुले चेतावनी दिए । प्रयोगशालाकर्मीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको गम्भीर ध्यानाकर्षण गराउँदै बाँकी तलब तत्काल भुक्तानी, सेवा सम्झौता नवीकरण, चाडपर्व, पोशाक, जोखिम तथा महँगी भत्ता उपलब्ध गराउन माग गरि सकेका छन् ।