एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ :

राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गरेका नेता राजेन्द्र महतोले गठबन्धनको सरकारले नेपाली जनतालाई केही पनि प्राप्त नहुने दावी गरेका छन् । जनकपुरधाम विमानस्थलमा शनिबार संचारकर्मीहरुसंग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनकै लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट गरे ।
उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए ।
उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न सकेन, उनले भने ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ ।’ अगाडी भने ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यक्ता छ ।’
एक अर्को प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबिच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताए । बेग्ला बेग्लै आन्दोलनहरु विगतमा भएकाले कुनै पनि अधिकारवादी आन्दोलन नेपालमा सफल हुन नसकेको उनको भनाई थियो ।