एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ :
मंगलवार मधेश सरकारको उर्जा सिंचाइ तथा खानेपानी मन्त्रालय जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय जनकपुरधाममा पृथक दृश्य देखियो । डिभिजन प्रमुख माधव देवको कार्यकक्षमा निर्माण व्यवसायीहरुको हुल थियो । काम सम्पन्न भएर पनि रकम निकासा नहुँदा समस्यामा परेका निर्माण व्यवसायीहरु त्याहाँ पुगेका थिए ।

रोयल बिल्डर्सका सञ्चालक मनमोहन शर्मा पनि पिडितका रुपमा त्यहाँ पुगेका रहेछन् । विधि प्रक्रिया पुरा गरि काम सम्पन्न गरेको वर्ष दिन भन्दा बढि भएपनि उनको रकम भुक्तानी भइरहेको छैन । उनले आफु दुई वर्ष देखि दैनिक तिन पटक यस कार्यालयमा पैसाका लागि धाइरहेको गुनासो पोखे ।

शर्माले सञ्चालन गरेको र्फमले आर्थिक वर्ष ०७८/७९ मा १ करोड ८८ लाख बजेट रहेको काम ५२ प्रतिशत कम अर्थात मात्र ८८ लाख प्रस्ताव गर्दा अनुमती पाए । २०७८ फागुन २० गते उनलाई हँसपुरको सिकयाही स्थित नदी नियन्त्रणको लागि जाली बोल्डरको काम गर्न तत्कालिन डिभिजन प्रमुख अरुण लाल कर्णले कार्यदेश प्रदान गरे ।

समयमा काम सम्पन्न हुन नसकेपछि उनको निवेदन बमोजिम ०७९/८० पुष ३० गते सम्मको म्याद थप भएकोमा उनले पुष १४ गतेनै काम सम्पन्न गरि पुष २४ गते अन्तिम भुक्तानीका लागि बिल भपाई पेश गरे । सो समयमा कार्यालय प्रमुख थिए बरुण लाल कर्ण उनले तत्काल बजेट नरहेको भन्दै भुक्तानी नहुने बताए पछि तिन चार महिनामै उनको पनि सरुवा भयो ।

वर्तमान डिभिजन प्रमुख माधव देवले बजेट रहेपनि विगतको काम भएकाले चालु आर्थिक वर्षमा भुक्तानीका लागि १८ नम्वर फारम भर्नुपर्ने भएपनि समयमा भर्न नसकिएपछि भुक्तानीमा कोष तथा लेखा नियन्त्रण कार्यालयले अनुमती नदिएपछि समस्या भएको बताउछन् । कामको सबै लेखाजोखा गरेका प्राविधिक सव ईन्जिनियर मुरली साहले काम सम्पन्न भई सबै प्रक्रियाहरु समेत पुरा भएर आफुले भुक्तानीका लागि सिफारिस गरिसकेको बताए ।

पिडित शर्माले ३९ लाख ५६ हजार रुपैया वाँकी वक्यौता रहेकाले काम गरेका मजदुरहरुको समेत दबाब र पिडाले आफुलाई थप समस्या भइरहेको बताए । लेखापाल रामप्रवेश यादवको कमिसनको लोभ, बदमासी र कार्यालयमा उनको न्युन उपस्थितीले डिभिजन कार्यालयको कामकाज प्रभावित भई यस्ता समस्याहरुको चांङ्ग लागेको अन्य उपस्थित निर्माण व्यवसायीहरुले बताए । उनकै लापरवाहीले कोलेनिकामा समयमा १८ नं. फारम उपलब्ध नहुँदा धेरै भुक्तानीहरु अलपत्र परेको अन्य पिडितहरुको गुनासो थियो । लेखापाल यादवलाई अनेकन नं. बाट सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् ।

डिभिजन प्रमुख देवले आफु कोलेनिकामा गएर समेत बुझेको बताउदै यथा सिघ्र समाधानका लागि प्रयास गर्ने भन्दै एक सप्ताहको समय मांग गरेका छन् । आक्रोसित पिडित व्यवसायीहरुले समान्य होहल्ला गर्नुका साथै मजदुरहरु आफुहरु मर्ने अवस्थामा पुगेको दुखेसो पोखेका थिए । निर्माण व्यवसायी संघ धनुषाका सचिव जय प्रकाश साह (पप्पु) को पहलमा सो समस्या समाधानका लागि पुगेका निर्माण व्यवसायीहरु काम गरेको भुक्तानी रकम रोकेर विकास अवरोधको काम गर्न नहुने बताएका थिए ।

मंगलवार पनि लेखापाल यादव कार्यालय समयमा उपस्थित थिएन । उनको कार्यकक्षमा तालाबन्द थियो ।