पुरन रौनियार
जनकपुरधाम, फागुन १२ : गान्धीवादी नेता भनेर समेत चिनिने नेपाली कांग्रेसका संस्थापक मध्येका नेता स्व. महेन्द्र नारायण निधीको १०३ औं जन्म जयन्ती वहाँको पैतृक शहर जनकपुरधाममा पनि मनाइएको छ । नेपाली कांग्रेस धनुषाको आयोजनामा वहाँकै नामवाट स्थापित महेन्द्र नारायण निधी मिथिला सांस्कृतीक केन्द्रमा ओयोजित एक समारोहमा वक्ताहरुले नेपाली कांग्रेस आफना अभिभावकहरुको अनुहार मात्र होइन बिचार र सिद्वान्त पनि बिर्सदै जानुनै पार्टीको कमजोर हुनुको कारण रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका वयोवृद्व नेता समेत रहेका मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भने, ‘म वहाँ संगै जेलमा थिए, म भन्थे पहिला तपाँई खाना खाइ हाल्नोस बुढापाका हुनुहुन्छ, वहाँले भन्नु हुन्थ्यो हैन तिमि जवान युवा पहिला खानुपर्छ शरिरको मांग र अझै धेरै लडनु पनि छ, हामी त नखाएपनि हुन्छ ।’ सो भनाई स्मरण गर्दै प्रदेश प्रमुख मिश्रले उहिलेको कांग्रेसमा आपसी माया र सदभाव रहेको बताउदै अहिलेको कांग्रेसमा त्यो मात्र नरहेकाले पार्टी यस्तो हुदै गएको बताए ।

आफुलाई अन्यपार्टीहरुबाट धेरै राम्रो अवसरहरु आएपनि जन्मदाताले भनेको पार्टीमै बसेकाले आज प्रदेश प्रमुखको सम्मान पाइरहेको उनले सुनाए । कार्यक्रममा प्रदेश सांसद तथा पुर्व मन्त्री राम सरोज यादवले निधी जी जस्तो सदस्य आफु जिल्ला सभापती हुँदा पाउनु आफनो लागि शौभाग्य भएको भन्दै कुनै प्रसंगमा निधी जी जस्ता व्यक्तित्वले पार्टी सभापतिका रुपमा आफुसंग माफी समेत मागेको प्रशंग उल्लेख गर्दै ति नेताहरुमा विधान, संस्कार र महानता रहेकै कारण आफु भन्दा सानालाई समेत सम्मान गर्ने गरेको स्मरण गराए ।

उनले भने वहाँको अर्को नाम शितल निधि पनि थियो तर वहाँ प्रजातन्त्र विरोधीहरुका लागि दन्किरहेको आगो सरह र अहिंसा मात्र होइन परि आएका वेला हिंसावादी पनि हुनुहुन्थ्यो । २००७ सालमा जनमुक्ती क्रान्ति हुँदा कांग्रेसको मुक्ती बाहिनी सेनाले बिरगंज, विराटनगर, जनकपुर क्षेत्र कब्जा गरेपछिको यस क्षेत्रको घोषित सरकारका प्रमुख समेत बनेका निधी प्रजातान्त्रिक आन्दोलनको अगुवा कमान्डर रहेका स्मरण उनले गराए ।
अर्का प्रदेश सांसद कुमरकान्त झाले कांग्रेसलाई कांग्रेसीले नै हराएर के फाइदा हुन्छ ? भन्ने प्रश्न गरे । स्व. निधी देशको प्रधानमन्त्री बन्न सक्नु भएन त के भयो ? भन्दै उनले कुनै पनि प्रधानमन्त्री भन्दा कम सम्मान वहाँलाई नरहेको बताए । सो अवसरमा पार्टी धनुषा सभापति योगेन्द्र पजियारले महेन्द्र नारायण जस्ता अभिभावकको जन्म जयन्ती कार्यक्रममा कुन वडा र पालिकावाट कति जना आउनु भएको छ ? प्रश्न गर्दै हात उठाउन आग्रह गर्दै टिकटका लागि मात्र होइन पार्टीको कार्यक्रममा आउन आग्रह गरेका थिए ।
सो अवसरमा पार्टीको महोतरी सभापति नागेन्द्र प्रसाद यादव, जनकपुरधामका नगरसभापति तथा मेयर मनोज कुमार साह, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, पुर्व सांसदहरु सहित विभिनन पालिकाका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती थियो ।






