एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
सरकारले २०२६ सम्म मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएपनि मधेश प्रदेश बाधक बनिरहेको आरोप लगाइएको छ । यही फागुन १३ गतेदेखि शुरु हुन लागेको दादुरा रुबेला खोप अभियान सम्बन्धी जानकारी दिन आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नु भयो ‘देशका सबै प्रदेशको जिल्लाहरु पूर्ण खोप घोषणा भइसकेको छ । तर मधेश प्रदेशका धनुषा, महोत्तरी, रौतहट र पर्सा चारवटा जिल्ला पूर्ण खोप घोषणा हुन नसक्दा मुलुक पूर्ण खोप घोषणा हुन नसकेको हो ।’ संचारकर्मीहरुको जिज्ञासामा अधिकृत झाले प्रदेशमा जनशक्ति र अर्थ प्रयाप्त भएपनि कर्मचारीहरुमा इच्छाशक्ति नभएका कारण प्रदेशका यी चार जिल्ला पूर्ण खोप हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयको निमित प्रमुख श्रवण नायकले कोही पनि खोपबाट नछुटुन भन्ने उद्देश्यले यही फागुन १३ गतेदेखि शुरु हुन लागेको दादुरा रुबेला खोपमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई समेटिने बताउनु भयो । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य रहेकोमा हालसम्म ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् ।

मधेश प्रदेशका धनुषाका ७, महोत्तरीका २, रौतहटका ९ वटा पालिका पूर्ण खोप घोषणा हुन बांकी रहेको छ भने पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणाको तयारीमा रहेको निमित प्रमुख नायकले बताउनु भयो । यस पटक मधेश प्रदेशमा दादुरा रुबेला खोपका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी समेत उहाँले दिनु भयो ।

स्थानीय सरकारको अपनत्व र नेतृत्वमा विभिन्न सरोकारवालाहरूको साझेदारी र सहयोगमा खोज र खोपको रणनीति अनुसार प्रत्येक वर्ष वडा तह देखि नै पूर्ण खोप सुनिश्चितता घोषणा र घोषणा पश्चात् दिगोपना कायम गरी सम्पूर्ण बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।