एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : नेपालमै पहिलो पटक महोतरीको भंगहा नगरपालिकाले यौनिकता शिक्षा बारे निति तर्जुमा गर्ने भएका छन् । जिएनआई नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा जनचेतनना अभियान नेपाल (प्याक नेपाल) द्वारा सञ्चालित जनकपुर एकिकृत सामुदायिक विकास परियोजनाको बृहत्त यौनिकता शिक्षा परियोजना कार्यक्रम अन्तर्गत “बृहत यौनिकता शिक्षा सम्बन्धि संवाद तथा निति निर्माण कार्यशालाको समापनमा विज्ञहरुले परियोजना किशोर किशोरीहरुमा हाल देखिएको समस्या र विकृती समाधानमा कोशेढुङ्गा सावित हुने बताए ।
मधेशमा किशोर किशोरीहरुमा देखिएको व्यापक विकृतीहरुलाई न्युनिकरण गर्न पालिकाको चार विद्यालयहरुमा विगत एक वर्ष देखि सञ्चालनमा रहेको परियोजनाको समिक्षा, संवाद तथा निति निर्माणका लागि महोतरीको बर्दिवासमा सम्बन्धित पक्षहरु संग गत फागुन ६ गते देखि आयोजित चारदिवसीय कार्यशालामा सहभागि विज्ञहरुले मधेशको वर्तमान अवस्थामा परियोजना विकृतीको प्रभावकारी औषधी सरह सावित हुने बताए ।
कार्यशालाका प्रशिक्षक समेत रहेका त्रिभुवन विश्वविद्यालय महेन्द्ररत्न क्याम्पस तहाचलका स्वास्थ्य शिक्षा संकाय प्रमुख प्राध्यापक डा. भिमसेन देवकोटाले मधेशको परम्परागत रितिरिवाज, संस्कृती र संस्कारका बाबजुद पनि किशोर किशोरीलाई अति आवश्यक यो शिक्षा बारे स्थानिय जनप्रतिनिधी, शिक्षक, अभिभावक र स्वयम लक्षित छात्रछात्राहरु पनि जिज्ञाशु भएको देख्दा खुसी लागेको बताए । प्याक नेपालकी परियोजना संयोजक सपना बुढाथोकीले सुरु सुरुमा यो विषय लिएर मधेशको समाजमा जाँदा के होला कस्तो होला भन्ने लागेको भएपनि पछि समाजले बुझन र सकारात्मक लिन थालेपछि झापाको छोरी मलाई मधेशको बारेमा सुनेको सबै गलत कुराहरु भ्रम मात्र सावित भएको बताईन ।

उनले मधेशमा किशोर किशोरीहरुमा हुने स्वभाविक शारिरिक विकास र आवेग संवेग व्यवस्थापन र शिक्षाकै अभावमा अहिले बालबिबाह, छोराछोरी भाग्नु, अपरिपक्व सम्बन्ध र बच्चाको जन्म, मातृमृत्यु सहितका समस्याहरु बल्झिदै गएको भन्दै परियोजनाले हदै सम्म त्यसको व्यवस्थापन गर्ने बताए । पालिकाका शिक्षक, जनप्रतिनिधी र कर्मचारीहरुले यस्तो भेग विषयको शिक्षा र नितिले बैदेशिक रोजगारका कारण अभिभावक विहिन मधेशका किशोर किशोरीहरुलाई नकारात्मकतावाट जोगाउन सहयोग पुग्ने बताए । पालिका प्रमुख र उपप्रमुखले यस शिक्षालाई नितिको रुपमा पालिकामा अवलम्वन गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।
सो कार्यशालामा भंगहा नगरपालिका नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, वडाअध्यक्षहरु सहित विद्यालयका प्र.अ. स्वास्थ्य फोकल शिक्षक, जिएनआई नेपालका जनस्वास्थ्य विभागका प्रमुख राम नरेश यादव र सृजना जोसि लगायत जनकपुर एकिकृत सामुदायिक विकास परियोजना प्रमुख टुपेन्द्र खुलाल र प्याक नेपालका बोर्डका सचिव राजेन्द्र यादव, कार्यकारी निर्देशक सुनिल कुमार यादव लगायत परियोजना संग सम्बन्धित कर्मचारीहरु अनिल यादव, सतिष यादव सहितको उपस्थिती थियो ।
