एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ :
मधेश प्रदेशमा अझै करिव चार लाख विद्यार्थी स्कुल बाहिर रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । मधेशको राजधानी जनकपुरधाममा आइतवार आयोजित विद्यालय वाहिर रहेका बालबालिकाहरुको अवस्था अध्ययन सम्बन्धी प्रतिवेदन प्रबोधीकरण कार्यक्रममा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले प्रस्तुत गरेको ताजा अध्यन्न प्रतिवेदनमा मधेशमा ४ देखि १७ वर्ष उमेर समुहका ३ लाख ९१ हजार ४ सय ७८ विद्यार्थी स्कुल बाहिर रहेको देखाइएको छ । सो उमेर समुहको मधेशको कुल जनसंख्या १८ लाख ५१ हजार १ सय ५१ रहेको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/728192112748903

युनिसेफको सहयोगमा ग्लोबल एक्शन नेपालले आयोजना गरेको कार्यक्रममा ढकालले प्रस्तुत गरेको पछिल्लो ताजा भनिएको प्रतिवेदनमा सबै भन्दा बढि मधेशको जिल्ला मध्ये रौतहटमा सबै भन्दा बढि २६.६ प्रतिशत स्कुल बाहिर छन भने सबै भन्दा कम सप्तरीमा १४.५ प्रतिशत छन् । सिरहामा १६.७, धनुषामा १६.५, महोतरीमा २१.३, सर्लाहीमा २२.३, बारामा १९.४ र पर्सामा १६.८ प्रतिशत बालबालिका विद्यालय जान सकिरहेका छैनन । समग्रमा मधेशमा सो वर्ष उमेर समुहको कुल जनसंख्याको १९.५ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको जस्मा हरेक जिल्ला र समग्रमा बालिकाहरु रहेको उल्लेख छ ।

४ वर्ष उमेर समुहका ४१ प्रतिशत बच्चा बिद्यालय बाहिर रहेको समेत देखाइएको छ । सम्बन्धित क्षेत्रका वक्ताहरुले विद्यालयमा विद्यार्थी आकर्षण गर्न भन्दा बढि प्रतिवेदन सार्वजानिककै कामहरु तिनै तहको सरकारले गरिरहेको, अहिले सम्म अधिकार हुँदा समेत स्थानिय तहले स्थानिय पाठयक्रम बनाउन नसकेको भन्दै कार्यान्वय र समाधानको पक्ष फितलो रहेको गुनासो गरे ।

शिक्षा प्रशासक पुर्णिमा गुरुङ्ग र ग्लोबल एक्शन नेपालका कार्यक्रम निर्देशक श्री कृष्ण वैंजुले प्रतिवेदन सार्वजानिक भइ सल्लाह र सुझाव संकलन भए पश्चात कार्यन्वयनमा लगिने बताए । पछि कुनै गुनासो आउँला कि भनेर शाक्षर वडा र पालिका नै घोषणा गर्नु हुदैन भन्नु गलत रहेको वहाँहरुको भनाई थियो ।

सो अवसरमा आसमान नेपालका कार्यकारी निर्देशक नवल यादव सहित विभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्रअहरु सहितको उपस्थिती थियो ।