एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : पत्नी वियोगमा रहेका मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीले आफनी स्व.धर्मपत्नीको १३ औं पुण्यतिथीको अवसरमा भोजभतेर र तामझाम नगरि समाजसेवा र परोपकारका लागि विभिन्न सहयोग घोषणा गरेका छन् ।
चौधरीकी धर्मपत्नी तथा उनका दुई सन्तान आकाश र कशिश चौधरीकी ममतामयी माता स्व. अनिता चौधरीको १३ औं दिनको पूण्य तिथिमा चौधरी परिवारले मारवाड़ी सेवा समितिको छात्रवृति कोषमा ५१०००/–,मानव सेवा आश्रमलाई २१०००/–,जानकी बृद्धाश्रमलाई २१०००/–,जनक छात्रावास लाई ११०००/–,सीताराम गौशालालाई ११०००/– तथा संत कबीर बाल आश्रमलाई ११०००/–सहयोग दान गर्ने घोषणा गरेको हो ।

चौधरीले सो जानकारी आफनो फेसबुक वालमा समेत साँझा गरेका छन् । चौधरी उद्योग बाणिज्य संघ जनकपुरधामका पुर्व अध्यक्ष, पुर्व केन्द्रिय सदस्य सहित जनकपुर जेसिजका समेत अगुवा रहेर काम गरिसकेका छन् । चौधरीले आफु पहिला देखि नै मृत्युभोजको पक्षधर नरहेकाले परिवारको सल्लाह बमोजिम यो निर्णयमा पुगेको बताए ।
सो अवसरमा उनी आवद्व श्री राम युवा कमिटि परिवारले १३ औं दिनको पुण्य तिथीमा स्व. चौधरीको स्मरणमा श्रद्धाञ्जली पत्र अर्पण गरेका थिए ।





