एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ :
उपभोक्ता समितिका कारण भ्रष्टाचार र अनियमितता बढेको र विकास निर्माणको गुणस्तर खस्किदै गएको आरोप लगाउदै वक्ताहरुले उपभोक्ता समिति बनाएर काम गर्ने परिपाटी खारेज हुनुपर्नेमा जोड दिएका छन् । शनिवार जनकपुरधाममा निर्माण व्यवसायी संघ धनुषाको १६ औं साधारण सभालाई सम्बोधन गर्ने वक्ताहरुले यस्तो माग गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी मुन्ना सहितका वक्ताहरुले टेण्डर प्रक्रियामा नगई उपभोक्ता समिति मार्फत काम गराउने गरेकाले काम पनि कमसल हुने र भ्रष्टाचार पनि व्यापक रुपमा हुने गरेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने बताएका हुन् । संघीय सरकारले उपभोक्ता समिति प्रक्रिया खारेज नगरेपनि प्रदेश र स्थानीय सरकारले त्यसमा चासो लिनुपर्नेमा जोड दिदैं उपभोक्ता समितिको कारण निर्माण व्यवसायीहरुले भोग्नु परेको समस्या बारे पीडा पोखेका थिए ।

प्रतिउत्तरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले उपभोक्ता समिति मार्फत अबदेखि प्रदेश सरकारले काम नगराउने गरी बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका लागि गरुयोजना बनाएर काम अगाडी बढाइने र ५० लाखभन्दा बढीको योजना ल्याएर टेण्डर मार्फत काम गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व निर्माण व्यवसायी समेत रहेका प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले टेण्डर लिनेदेखि भुक्तानी पाउञ्जेलसम्म सम्बन्धित कार्यालयलाई पीसी र सरकारलाई करमाथि कर बुझाउनुपर्ने लगायतका समस्या निर्माण व्यवसायीले पीडा भोग्नु परिरहेको बताए ।

यस्तै निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामाले समयमा निर्माण व्यवसायीले काम गर्न नसक्नुको प्रमुख कारण साइट क्लियर नहुनु, समयमा मेटेरियल उपलब्ध लगायतका समस्या भोग्नु परिरहेको पीडा सुनाए ।

कार्यक्रममा उपस्थित निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शम्भु ठाकुर, महासचिव रोशन दाहाल, निर्माण व्यवसायी कामेश्वर झा, दिपक झा, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनाल लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए भने संघ धनुषाका महासचिव रमेश प्रसाद यादवले संगाठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा वरिष्ठ निर्माण व्यवसायीहरु बलराम महतो, राजु चौधरी, हिरा भगत सहितको उपस्थिती थियो ।