एसपी रिपोर्टर
जनकपुरधाम, पुस २७ :
राष्ट्रिय प्रजातान्त्रिक युवा संघले नगरको विभिन्न भागको परिक्रमा गर्दै ३०२औँ पृथ्वी जयन्ती एवं एकता दिवस मनाएको छ ।
संघले रैली निकालेर जनकपुरधाममा पृथ्वी जयन्ती एवं एकता दिवस मनाएको हो । राजतन्त्रको समर्थनमा विभिन्न नारा लगाउँदै रैलीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । राष्ट्रिय प्रजातान्त्रिक युवा संघले निकालेको सो रैली जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संघको प्रदेश अध्यक्ष रंविजय सिंहले सरकारले पृथ्वी जयन्तीको अवसर पारेर विदा दिएकोमा खुशी व्यक्त गरे । पृथ्वी जयन्ती एवं एकता दिवसको खुशियालीमा आफूहरु कुनै राजनीतिबाट प्रेरित नभई स्वतस्फुर्त रुपमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेका छौँ । देशको वर्तमान स्थिति जर्जर बनिरहेको समयमा पृथ्वीनारायण शाहले देखाएको मार्ग नै देशलाई एकताको सूत्रमा बाँध्ने सक्ने सिंहको भनाई थियो । उनले देश बचाउन युवाहरु जाग्नु आवश्यक छ र राजतन्त्र फर्काउनका लागि एकजुट भएर आवाज उठाउनु आवश्यक रहेको बताए ।





