एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ :

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती एवं एकता दिवस जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको हो ।
पृथ्वी जयन्ती एवं एकता दिवसको अवसर पारेर नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले रैली निकाल्दै नगर परिक्रमा गरेको छ । जनकपुरधामको जनकचौकवाट जानकी मन्दिर, मिल्स एरिया र भानु चोक हुदै निस्केको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै समाजका अगुवा राजावादी किशोरी महतोले पार्टी र चुनाववाट राजा आउन नसक्ने भएकाले राजावादी अभियानवाटै ल्याउन सक्नु पर्ने बताए । उनले कुनै पनि स्वार्थमा लागेर राष्ट्रिय एकता कमजोर हुनु हुँदैन सन्देश पृथ्वीनारायण शाहले दिनुभएकाले उहाँको सन्देश पालन गर्न तर्फ सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताए । देशमा राष्ट्रिय एकता कायम गर्नका लागि राजतन्त्र आवश्यक रहेको उनको भनाई थियो ।

नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाका अध्यक्ष प्रकाशजंग राणाले सरकारले पृथ्वी जयन्तीको अवसरमा फेरी विदा दिन शुरु गरेकोमा खुशी व्यक्त गरे ।