एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ :
भारतको अयोध्यमा भगवान रामको नवनीर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी गरिएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा जनकपुरधाम अयोध्या भार यात्राको माध्यमले भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । जनकपुरधामबाट जाने भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्याइने छ । भारमा विभिन्न प्रकार कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान रह्ने उत्तराधिकारी महन्थ दासले बताए ।
उनले जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवाबाट सिम्रौनगढ हुँदै गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए । त्यसको भोली पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया, कुशी नगर, सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रोशनले जानकारी दिए । अध्योध्या पुगेको भोली पल्ट ६ तारिखका दिन विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
यो भार यात्राका लागि ११ सय सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको जसको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गर्नेछन् । उत्तराधिकारी महन्थ दासका अनुसार समितिको संरक्षकको रुपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई चयन गरिएको छ ।
जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।





