एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ९ :
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेपालमा वर्तमानमा रहेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले बदल्न नसक्ने दावी गर्नु भएको छ ।
पछिल्लो समय राजा फर्काउनका लागि भईरहेको आन्दोलन तर्फ ईंगित गर्दै निधिले नेपालमा रहेको वर्तमान व्यवस्थालाई कसैले परिवर्तन गर्न नसक्ने दावी गर्नुभयो । मैथिलीका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताको बलिदानी र त्यागले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइएकाले कसैले चाहँदैमा यो व्यवस्था नबदलिने बताउनु भयो । उहाँले गणतन्त्र, प्रजातन्त्रलाई कसैले बदल्न नसक्ने दावी गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री निधिले मैथिलीका महाकवि विद्यापतिको कृतित्वमाथी चर्चा गर्दै विद्यापति मैथिल तथा मिथिलाको मात्र नभई पूरै नेपालको धरोहर रहेको बताउनु भयो । विद्यापति जन कवि थिए बताउनु हुँदै निधिले विद्यापति समानता तथा प्रजातन्त्र पक्षधर कवि रहेको बताउनु भयो । उहाँले विद्यापतिको रचनाबाट वर्तमान पुस्ता प्रेम रसको मात्र नभई समानता, लोकतन्त्र तथा जनताको पक्षमा काम गर्ने प्रेरणा लिन सक्ने बताउनु भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम ४का वडाध्यक्ष सुरेश झा लगायतका वक्ताहरुले विद्यापतिको व्यक्तित्वमाथी चर्चा गर्नु भएको थियो । मैथिलीका महाकवि विद्यापतिको अवसान कार्तिक धवल त्रयोदशीकै दिन भएको स्मरणमा प्रत्येक वर्ष यो तिथिमा विद्यापति स्मृति पर्व मनाइने गरिन्छ ।





