संजय कुमार साह
जनकपुरधाम, मंसिर ९ :
मिथिलाञ्चल क्षेत्र आफ्नो धर्म संस्कृतिको संरक्षणकालागि पर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा सधै कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ ।
यसै क्रममा स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वमा मैथिल नारीहरुले कार्तिक महिनाको सन्ध्याकालिन शितल वातावरणलाई मनमोहक एवं संगीतमय बनाउने गर्छन् ।
कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलकी चेलीबेटीहरुले मनाउने गर्छिन् । कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरु संगै सामा चकेवा पर्व मनाइएको छ ।
सामा चकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतिकको रुपमा लिन सकिन्छ ।
यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको आकृतिको रुपमा माटोले बनाइएको हुन्छ ।
सामा चकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउछन् ।
पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रण दिन्छन् । भाईले घुडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ । बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ ।
सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरुको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन र्गछ ।
सामाचकेवामा मिथिलानीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन । ती माटोबाट कलात्मक वृन्दावन , चुगला , चकेवा , चरा , कजरौटा , सतभैया लगायतका मुर्तिहरु बनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन् ।
पर्वको गीति पक्ष
सामा चकेवा पर्वको सबैभन्दा सवल पक्ष यसमा गाइने गीतहरु हुन् ।
‘धान, धान, धान छई
भइया कोठी धान छैई ,
चुगला कोठी भूस्सा छई ।
पान पान पान छई ,
भइया मुख पान छई ,
चुगला मुख कोइला छई ।
चाउर– चाउर–चाउर छई ,
भैया कोठी चाउर छई,
चुगला कोठी छाउर छई ।’
अर्थात दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला छ, दाजुको कोठीमा चामल भरेको छ भने चुगलाको कोठीमा खरानी छ ।
सामा–चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरु गाएर बहिनीहरु मनोरञ्जन गर्छन् ।
जहाँ मोरा बाबा बैसत तहाँ मोरा भैया बैसत
सात पण्डितवा बैसत तहाँ चुगिला चुगली लारए हे ।
चुगिला तोरा कोन बानि अक बानि,
बक बानि चुगला गाढि़सँ खसलै निछक बानि ।
बहिनीहरुले गीतकै माध्यमले आफ्नो भाईको बीरतालाई दर्शाउने गर्छिन् । वृन्दावनमा आगो लाग्यो, निभाउने कोही छैन । बहिनीलाई भाइमाथि विश्वास छ, उनी मात्र निभाउन सक्छन् भनेर मिथिलाञ्चलकी नारीहरु गाउँछन् –
वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि –दौडि मिझाबे हे..।
सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रहरूको विसर्जन गर्ने चलन रहेको छ । सोही परम्परा अन्तर्गत कार्तिक पूर्णिमाका दिन अर्थात आज ती माटाका मूर्तिहरु विसर्जन गरेका छन् ।
सामचको, सामचको अविहहे, अविह हे।
कुड खेतमे बैसिह हे बैसिह हे ।
पौराणिक कथा
पद्म पुराणमा उल्लेख भए अनुसार सामाचकेवा पर्व मनाउनुको पछाडी एउटा छुट्टै कथा समेत रहेको छ । श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् ।
तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झुठा कुराहरु सुनाइदिन्छ ।
कृष्णले आफ्नी छोरी श्यामाको सतित्वमाथि शङका गरी चरी बन्ने श्राप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रुपमा बृन्दावनमा बस्न थाल्दछन् ।
यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबाक्यलाई पुनः मनुष्य बनाउन बृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने श्राप पाएपछि चूडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको श्रापबाट रिसाएर चूडकले वृन्दावन मै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छ ।
त्यसपछि भगवान् विष्णु साम्वा प्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहि आएको छ ।
