एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ :
मधेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले पर्सा र बारा जिल्लाका विभिन्न न्यायिक तथा प्रशासनिक निकायहरूको अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा मन्त्री महतोले अदालत तथा प्रशासनिक निकायहरूको सेवा प्रवाह, न्याय सम्पादन प्रक्रिया, सुरक्षा अवस्था र कार्यालय व्यवस्थापनको स्थलगत अवलोकन गरेका हुन्। उनले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन आवश्यक विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल समेत गरेका थिए।

छलफलका क्रममा मन्त्री महतोले नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सबै निकायबीच समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए।
अनुगमनमा बारा जिल्ला अदालतका मुख्य न्यायाधीश, पर्सास्थित उच्च अदालतका मुख्य न्यायाधीश तथा अन्य न्यायाधीशहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, रजिस्ट्रार, श्रेस्तेदारलगायत सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।





