एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १९ :
जनकपुरधामस्थित जिरो माइल फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। जनकपुरधाम फलफूल तथा तरकारी व्यवसायी संघले उच्च अदालत जनकपुरको आदेशलाई सम्मान गर्दै बजार खाली गर्ने प्रक्रिया स्वेच्छिक रूपमा अघि बढाइसकेको जनाएको छ।
संघका पदाधिकारीहरूका अनुसार हाल आँपको मुख्य व्यापारिक मौसम चलिरहेकाले साउन महिनासम्म समय उपलब्ध गराइदिन प्रशासनसँग आग्रह गरिएको थियो। तर, सम्बन्धित निकायबाट आवश्यक सहजीकरण र सहयोग नपाएको व्यवसायीहरूको गुनासो छ।
फलफूल व्यवसायी महासंघका महासचिव भुवनेश्वर पूर्वेले अदालतको आदेशको सम्मान गर्दै व्यवसायीहरू बजार खाली गर्न तयार रहेको बताए। उनले आँपको सिजनका कारण केही समय मात्र मागिएको भए पनि व्यवसायीहरूको मागप्रति कुनै निकायले संवेदनशीलता नदेखाएको आरोप लगाए।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले करोडौं रुपैयाँ राजस्व तिर्ने फलफूल व्यवसायीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु उचित नहुने बताए। उनले जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय गरी व्यवसायीहरूका लागि नयाँ स्थान व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको भए पनि करार प्रक्रिया बाँकी रहेकाले केही ढिलाइ भएको हो। अध्यक्ष भण्डारीले वैकल्पिक बजार व्यवस्थापन नभएसम्म व्यवसायीहरूलाई समस्यामा पार्न नहुने धारणा व्यक्त गरे।
व्यवसायीहरूले फलफूल तथा तरकारी व्यवसाय कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको सेवा तथा वितरण प्रणालीको महत्वपूर्ण हिस्सा भएकाले राज्यले यसलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्। थोक व्यवसायका लागि व्यवस्थित बजार र वैकल्पिक स्थानको अभावले आफूहरू समस्यामा परेको तथा पछिल्लो घटनाले थप पीडा र अन्यायको अनुभूति गराएको उनीहरूको भनाइ छ।





