एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ :
जनकपुरधाम उपमहानगरपालिकामा एकीकृत खानेपानी आयोजना तथा ढल ब्यबस्थापन आयोजनाको पदाधिकारीहरुको उपस्थितिमा खानेपानी समस्या समाधानका लागि छलफल भएको छ । पछिल्लो केही वर्षदेखि जनकपुरधाममा खानेपानीको समस्या बल्झिदै गएपछि उपमहानगरले एकीकृत खानेपानी आयोजना तथा ढल ब्यबस्थापन आयोजना कार्यालयसंग छलफल अगाडी बढाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहको अध्यक्षतामा भएको छलफलमा धनुषा ३का प्रतिनिधिसभा सदस्य जुली महतो, प्रदेशसभा सदस्यहरु रामसरोज यादव, शेषनारायण यादव, खानेपानी मन्त्रालयका सचिव रामआधार साह लगायतको उपस्थिति रहेको थियो ।
छलफलबाट उपमहानगरपालिकाले जग्गा छनौट गरेर मन्त्रालयलाई दिने र ती ठाउँमा बोरिंग गारिने निर्णय गरिएको हो । बोरिंगबाट आउने पानीलाई टैंकमा जम्मा गर्ने समेत निर्णय गरिएको हो ।
उपमहानगरका प्रमुख मनोज साहले आफूहरु खानेपानी समस्या समाधानका लागि दिर्घकालिन समाधान खोजेपनि अहिले त्यस्तो निर्णय नभएको बताए । उनले खानेपानी समस्या जनकपुरधाममा हल गर्नका लागि कमला वा चुरेबाट पाइप लाइन ओछ्याएर पानी ल्याउने बाहेक अन्य कुनै उत्तम विकल्प नरहेको बताए ।
