एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ :
जनकपुरधाममा विकास निर्माणको काममा भएको लापरवाहीका कारण दुई बर्षे बालकको ज्यान गएको छ । सडक छेउको ५८ वटा चेम्बरमा ढकनी लगाउनुपर्नेमा गरिएको लापरवाहीका कारण पुन: एक बालकको ज्यान गएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनाको हजाम टोल बिहानैदेखि शोकमा छ । स्थानिय रञ्जित मुखियाको घर अगाडिको ढक्कन बिनाको नालामा खसेर खेल्दै गरेका उनका दुई वर्षे छोरा रोहनको ज्यान गएपछि स्थानियहरु मुर्छित र आक्रोसित पनि छन् ।

रञ्जित मुखियाको आँगनमा जम्मा भएकाहरूले सासू–बुहारी अनिता–पुनितालाई सम्झाइरहेका मात्र छैनन्, आक्रोश पनि पोखिरहेका छन् । क्रोधको कारण हो, करिब दुई वर्षअघि ढलान गरिएको नालाको चेम्बर खुला छाड्नु । त्यही खुला चेम्बरबाट नालामा खसेर शुक्रबार बिहान रञ्जितका करिब दुई वर्षीय छोरा रोहनको मृत्यु भएको हो ।

मृतक वालककी आमा पुनिता र हजुरआमा अनिता बिहानै उठेर घरको काममा व्यस्तको वेला अनिताका जेठो छोरा ८ वर्षीय अजित संगै खेली रहेका रोहन हराएपछि खोजी सुरु भयो । सडकमा खेलिरहेका रोहन क्षणभरमै हराएपछि सबै आश्चर्यमा परे । छिमेकी अमृताले सडक छेउमा नछोपिएको नाला (चेम्बर) मा बालकको थोरै खुट्टा देखिन तर वालकको ज्यान गइसकेको थियो । बिरालोलाई पछ्याउने क्रममा वालक नालामा खसेको हुनसक्ने स्थानीयको आशंका छ ।

स्थानीयका अनुसार वालकमा लागेको फोहोर धोएर सुरुमा नजिकको क्लिनिक पुर्‍याइयो, त्यसपछि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए तर रोहनको मृत्यु भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे । मृतक वालकको परिवारको आर्थिक अवस्था कमजोर छ भने बुवा रञ्जित डेढ वर्षदेखि कतारमा बस्दै आएका छन् ।

स्थानीय जनप्रतिनिधि र उपभोक्ता समितिलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नालामा ढकनी नराखेकै कारण बालकको ज्यान गएको भन्दै स्थानीय आक्रोशित छन् । चार दिनअघि मात्र नाला सफा राख्नुपर्ने र ढकनी लगाउनुपर्ने भन्दै स्थानीय युवाहरू वडा कार्यालयमा पुगेका थिए । तर वडाध्यक्षले दर्ता नै नगरेको नन्दकुमार महराले गुनासो गरे ।

घटनापछि उनीहरूले वडाध्यक्ष चन्देश्वर साहलाई खबर गरेका थिए, तर उनी नआएपछि वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए । आखिर मानविय क्षती भइहाल्यो । वडा अध्यक्ष साह भने यो सडक र नालाको काम आफ्नो पालामा नभएको र कसैले नाला खुल्ला छ भनेर नभनेको दावी गर्छन् । यो सडक र नाला आर्थिक वर्ष २०७७/७८ मा संघीय बजे ५० लाखको लागतमा स्थानीय शम्भु मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले ३५० मिटर बाटोमा पीसीसी ढलान र नाला बनाउने काम गरेको थियो ।

उपभोक्ता समितिले स्थानीय ठेकेदार अजित मण्डल मार्फत काम गराएको थियो । अजित उपभोक्ता समितिका अध्यक्ष शम्भुका भाइ हुन् । ठेकेदारले बाटो ढलान गरे, तर नालाको ढकनी लगाएनन् । ५८ वटा चेम्बरमा ढकनी लगाउनुपर्ने थियो । तर उपभोक्ता समितिका अध्यक्ष शम्भुको घर अगाडि पर्ने बाटोमा तीन वटा चेम्बरमा भने ढकनी लगाइएको छ । अन्य ठाउँमा लगाइएको छैन । बाँकी ढकनी भने ठेकेदार अजितको घरको छतमा थुपारिएको बताइएको छ ।

नाला खुला राख्दा जोखिम बढेपछि केही स्थानीयले आफ्नै खर्चमा बनाएर ढकनी लगाएका छन् । ठेकेदार अजित आफूले उपभोक्ता समितिबाट काम गरेको र समयमा नालाको चेम्बरमा ढकनी लगाउन नसकेको स्वीकार गर्छन् । उपभोक्ता समितिले सम्पुर्ण रकम पैसा भुक्तानी नभएकाले वाँकी ढक्कन लगाउन नसकिएको बताउछन भने ठेकेदार र उपभोक्ता समितिको दावीसँग संघीय आयोजना कार्यान्वयन इकाइका अधिकारीहरू सहमत छैनन् ।

संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका सव ओभरसियर मनोजकुमार मण्डल साइट भिजिट गर्दा ५२ वटा ढकनी जडान गरिएको पाएपछि मात्र उपभोक्ता समितिलाई भुक्तानी गरेको दावी गर्छन् ।

अनलाइनखवर डटकमको सहयोगमा