वरिष्ठ समाजसेवी स्व. साहको निधन प्रति राष्ट्रपति देखि प्रधानमन्त्री सम्म दु:ख व्यक्त


एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ : जनकपुरधाममा आफनो सैयौं बिघ्घा निजी जग्गा दान गरि यहाँको शैक्षिक, धार्मिक, स्वास्थ्य र समाजिक पुर्वाधारहरु विकास र निर्माणमा अहम भुमिका निर्वाह गर्ने समाजसेवी रामचन्द्र साहको निधनमा राष्ट्रपति देखि प्रधानमन्त्री सम्मले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सन्देश पठाएका छन् ।
मारवाडी सेवा समितिका जनकपुरधामका अध्यक्ष निर्मल चौधरीले सेवा समितिको सभाहलमा आयोजित स्व. साहको श्रद्धाञ्जली सभामा दानवीर साहको निधन प्रति दु:ख व्यक्त गर्र्दै राष्ट्रपति, प्रधानमन्त्री सहितकाले पठाएको शोक सन्देश पढेर सुनाएका थिए ।
चौधरीले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल, प्रदेश प्रमुख हरिशंकर मिश्र, धनुषाका सांसदहरु विमलेन्द्र निधी, रघुविर महासेठ, जुली महतो, प्रदेश सांसद रामसरोज यादव, नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल, कलवार कल्याण समिति जनकपुरधाम सहितको श्रद्धाञ्जली/शोक सन्देश पढेर सुनाएका थिए ।

चौधरीका अनुसार मारवाडी सेवा समितिको श्रद्धाञ्जलीसभा सम्म उपलब्ध हुन नसकेपनि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल सहितकाले समेत शोक सन्देश पत्र मार्फत पठाउने सम्बन्धमा आफुहरुलाई जानकारी गराएको बताए ।

सो श्रद्धाञ्जली कार्यक्रममा स्व. साहका सुपुत्रद्वय ई. प्रकाश चन्द्र साह र ई. शुभाषचन्द्र साह जनकपुरधामका राजनितिज्ञ, व्यापारी, विभिन्न क्षेत्रका अगुवाहरु, युवा तथा जातिय अगुवाहरुको पनि उपस्थिती थियो । उपस्थितहरुले एक मिनेट मौन धारणका साथै स्व. साहको तस्वीरमा पुष्प अर्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।
