एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
जनकपुरधामको मुख्य पहिचान प्रसिद्व बिश्वका हिन्दुहरुको आस्थाको केन्द्र श्री जानकी मन्दिर त हो नै अर्को मुख्य पहिचानको राराब क्याम्पस र सरस्वती मावि पनि जसरी बिश्वका हिन्दुहरु जानकी मन्दिर आएर आस्था र श्रद्धा प्रकट गर्छन त्यसरि नै सरस्वती उच्च मावि र राराबमा पढेका हरेक क्षेत्रका बिद्वानहरु बिश्वका हरेक देश र शहरमा बसोबास गरिरहेका छन् ।

तिनै राराब क्याम्पस र सरस्वती उच्च माविका स्थापनाकार मध्येका एक वरिष्ठ समाजसेवी दानवीर रामचन्द्र साहको ९५ वर्षको उमेरमा शुक्रवार विहान निधन भएको छ । जनकपुरधामको निर्माण, संस्थापना, शिक्षा र स्वास्थ्य क्षेत्रको पुर्वधार विकासमा जग्गा, जिन्सी र नगद गरि अहिले सम्म अर्बौैको सम्पती हाँस्दै दान गर्ने दानवीरहरु रामसागर रामस्वरुप परिवारका जयेष्ठ सदस्य साहको निधन भएको हो ।

वि.सं. १९८५ रामनवमीका दिन जन्मेका साह आज आफनो देह त्याग गरिरहँदा उनका समकक्षी, जनकपुरधामका जयेष्ठ सदस्य, राजनितिज्ञहरु श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिक शरिर राखिएको उनको जयेष्ठ सुपुत्र तारा चन्द्र साहको मिल्सएरिया स्थित निवासमा विहानै देखि पुग्ने गरेका छन् । उनका माइला र कान्छा सुपुत्रद्वय क्रमश ई. प्रकाश चन्द्र साह र शुभाषचन्द्र साह उनको अन्तिम संस्कारको तयारीमा जुटिरहेको देखियो ।

जानकारीको अभावमा पनि हुन सक्छ उनलाई श्रद्धाञ्जली अर्पण गर्नेहरुको समान्य चहल पहल देखिएपनि त्यहाँ पुग्ने गरेको बयोवृद्वहरुको उहाँ प्रति अपार आस्था देखियो । वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी तथा जनआन्दोलनका जिउँदा शहिद राम भरत साहले स्व. साह प्रति जनकपुरधामको हरेक नागरिकले सच्चा श्रद्धाञ्जली अर्पण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘अव के भन्ने अहिले कुनै कथाकथित नेता विमान स्थलमा आउँदा पनि भिड लाग्छ तर जनकपुरधाम बनाएका दानवीरको अन्तिम दर्शनका लागि कसैसंग समय छैन ।’

उनले योगदानको कदरहुनु पर्ने बताए । २०५० सालमा जनकपुरधाम नगरपालिकाले आधिकारिक रुपमा समाजसेवीको रुपमा रामचन्द्र बाबु, शिक्षासेवीको रुपमा तत्कालिन सरस्वती उच्च माविका प्रअ गंगाधर दत्त र जनआन्दोलनको सिपाहीको रुपमा मलाई सम्मान गरेको स्मरण गर्दै वरिष्ठ पत्रकार साहले भने, ‘यहाँको समाज र राज्यले स्व. साह जस्ता दानवीर र परिवारजनलाई बिर्सेका छन् ।’