एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
वक्ताहरुले बेहुला बेहुलीलाई नै आफनो विवाह बारे जानकारी नभएको जस्तै मधेशको दलित विकास समिति बेकम्मा जस्तो देखिएको आरोप लगाएका छन् । कहिल्यै सदस्यहरुलाई बस्ने ठाँउ र कुर्सी छैन भन्छ, शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराईले भने, ‘कुर्सी पनि दिए त्यै पनि बस्न चाहदैनन् ।’

मंगलवार जनकपुरधाममा दलित जनकल्याण युवा क्लब सिरहा लहानद्वारा आयोजित प्रदेश दलित सशक्तिकरण ऐन/नियमावली कार्यान्वयनको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरु मध्ये सचिव भट्टराईले दलितको कुनै पनि कार्यक्रममा समितिका पदाधिकारीहरु नआउनु बिडम्वना रहेको बताए ।

समितिका पदाधिकारीहरुको कारण मधेश प्रदेश अन्तर्गत रहेको दलित विकास समिति निस्क्रिय भइरहेको आरोप उनीहरुको आरोप छ । ‘दलितको हितमा काम गर्नु छैन एनजिओका लागि लडाई गर्न मात्र आउँछ’ उनले थपे । दलितको कार्यक्रम दलितकै एनजिओलाई दिइनुपर्छ भन्दै लडाई हुने गरेको र आफनो समय सम्झाउदै बित्ने गरेको पनि उनले सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले बजेट छुटयाएपनि दलित विकास समितिका पदाधिकारीहरुको मनपर्दीका कारण ऐन कार्यान्वयनमा समस्या भएको बताए । उनले दलितका लागि मात्र ३१ करोड बजेट बिनियोजन भएको र समितिले गर्नुपर्ने १५ महत्वपुर्ण कामहरु रहेको भएपनि हाम्रो काम के हो ? समितिका पदाधिकारीहरुले भनेको सुन्दा आश्चर्य लागेको बताए ।

कार्यक्रममा सहभागीहरुले दलितहरुको उत्थान तथा विकासका लागि ऐन बनेपनि हालसम्म कार्यान्वयनमा आउन नसक्दा दलितको अवस्थामा सुधार आउन नसकेको आरोप लगाएका थिए । उनीहरुले विकास समितिका पदाधिकारीहरु सेवा सुविधामा लिप्त र भागबण्डामा लागेको कारण ऐन कार्यान्वयनमा आउन नसक्नुका साथै समिति कामविहिन भएको आरोप लगाए ।

कार्यक्रममा हरवाचरवाह राष्ट्रिय मञ्चका अध्यक्ष दशलाल मण्डल सहित दलित र हरवाहचरवाह अगुवाहरुको उपस्थिती थियो ।