एसपी रिपोर्टर
जनकपुरधाम, साउन १९ :
मधेस प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथी सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी उपर यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । मधेस आन्दोलनको क्रममा शहीद भएका रामविवेक यादवको श्रीमती अनिला कुमारी यादव सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत हुन् । उनले नै मुख्य न्यायधिवक्ता ठाकुरमाथी यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।
मुख्यन्यायधिवक्ता कार्यालयको स्थापनाकालदेखि नै सो कार्यालयमा कार्यरत उनले मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई पटक–पटक दुव्र्यवहार गर्दै मानसिक यातना दिदै आएको बताइन् ।
‘मधेस प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छु,’ उनले भनिन्, ‘तर उनले मलाई जहिल्यै गलत नजरले हेर्नुहुन्छ ।’
पटक पटक दुव्र्यवहार हुन थालेपछि आफूले गत साउन १४ गते मुख्यमन्त्री कार्यालयमा मुख्य न्यायधिवक्ताविरुद्ध निवेदन लिएर पुगेको तर मुख्यमन्त्रीले निवेदन दर्ता नगरी आफूले सम्झाउने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काइएको गुनासो गरिन् ।
उनले लेखेको निवेदनमा ‘मलाई मुख्य न्याधिवक्ता सरले फेस ठिक गरेर कार्यालयमा आऊ । फेसमा स्माइल ल्याऊ भन्नु हुन्छ । फेसमा स्माईल ल्याएनौ भने काम गर्न नआउनु भनेर भन्ने गरेको उल्लेख गरेकी छिन् । मुख्यमन्त्री सरलाई एक पटक मौखिक रुपमा भन्दा म उसलाई सम्झाउँछु भन्नुभयो । तर, फेरि म माथि त्यस्तै व्यवहार भयो निवेदनमा उल्लेख गरेकी हुन् ।
गत साउन १२ गते कार्यालय समयपछि आफ्नो कार्यकक्षमा बोलाएर मुख्य न्याधिवक्ता ठाकुरले मैले भनेको नमानेको खण्डमा कुनै पनि हालतमा करारको म्याद नथप्ने भनेर धम्की दिएको कार्यालय सहयोगी यादवले आरोप लगाइन् ।
यता मुख्य न्यायधिवक्ता वीरेन्द्रकुमार ठाकुरले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । उनले भने, ‘एक पटक मैले सर्वाेच्च अदालतको महत्वपूर्ण कागजात उनलाई राख्न दिएको थिएँ । तर, उनले हराइदिइन् । त्यसपछि मैले कराएपछि उनले म माथि यस्तो निराधार आरोप लगाएकी हुन् ।’
बरु उल्टै उनी आफ्नो कार्यकक्षमा प्रवेश गरी बिना अनुमति भिडियो बनाएको र बाहिर अनर्गल कुरा गरेर आफ्नो अपमान गरेको मुख्यन्यायधिवक्ता ठाकुरले बताए । उनले भने ‘आफूले यस विषयमा मुचुल्का उठाई सकेको छु, चाहेको भए अभद्र व्यवहार मुद्दा उनीमाथी चलाउन सक्थे तर मैले त्यस्तो गरिन् ।’ शहीदहरुको बलिदानीले यो प्रदेश बनेको हो, त्यसमाथी शहीदको पत्नी रहेको सोचेर आफूले मुद्दा नचलाउने सोचेपनि उल्टै त्यसको फाइदा उठाउँदै अनर्गल प्रचारबाजी गरिरहेको मुख्यन्यायधिवक्ता ठाकुरले बताए ।
तत्कालिन लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेस आन्दोलनका सहिद परिवारका एक एक जना सदस्यलाई प्रदेश सरकार र सो अन्तर्गतका कार्यालयमा जागिर दिने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप अनिलालाई कार्यालय सहयोगी पदमा त्यसबेला मुख्यन्याधिवक्ताको कार्यालयमानियुक्ति दिइएको थियो ।
सहिद रामविवेककी पत्नी अनिलाको एउटा छोरा छ । छोरा ७ महिनाको पेटमै हुँदा रामविवेकको २०७२ साल भदौ २३ गते अधिकारको लागि गरिएको मधेस आन्दोलनको बेला प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।





