एसपी रिपोर्टर

जनकपुरधाम, साउन १८: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला बनाउन भारत तयार रहेको बताएका छन् । मधेसको खेल र खेलाडीको विकासका लागि आवश्यक रहेको सो रंगशाला बनाउन भारत सरकार तयार रहेको एक कार्यक्रममा मुख्यमन्त्री यादवले स्पष्ट पारेका हुन् । ठूलठूला नेताहरु रंगशाला नबनोस त्यसका लागि लबिङ्ग गरिरहेको अवस्थामा प्रदेश सरकारको पहलमा भारत सरकार रंगशाला बनाउन तयार भएको दावी गरे ।

यहीका कतिपय ठूल ठूला नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक सय करोड सहयोग रकम रंगशाला निर्माणमा नलगाउन पहल गरेका थिए, मुख्यमन्त्री यादवले भने ‘म आफै भारतीय राजदूतलाई भेटेर रंगशाला निर्माणमा लगाउन भनेपछि भारत सरकार अत्याधुनिक रंगशाला निर्माण गर्नका लागि भारत तयार भएको छ ।’ यहीका ठूलठूला व्यक्तिहरु सो रकमबाट गोपाल धर्मशालालाई अत्याधुनिक धर्मशाला बनाउनका लागि पहल गरेको बताउँदै मुख्यमन्त्री यादवले भित्र भित्रै धर्मशाला निर्माणका विषयमा निर्णय भईसकेको अवस्थामा आफूले तदारुकता देखाएपछि रंगशाला निर्माणको वातावरण बनेको दावी गरे ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको समिक्षा गोष्ठी कार्यक्रममा एक अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री यादवले भ्रष्टाचार निर्मूल पार्ने संकल्प लिएपनि अहिलेसम्म त्यस तर्फ खासै प्रगति हुन नसकेको स्वीकार गरे । उनले संघियता जोगाउने जिम्मा हामीमाथी रहेकाले भ्रष्टाचारलाई जडैदेखि उखाल्नका लागि सबै पक्षसंग उनले आग्रह गरे ।

मन्त्रालय अन्तर्गत रहेका प्रतिष्ठानहरुको कामप्रति समेत मुख्यमन्त्री यादवले असन्तुष्टि व्यक्त गरे । उनले मन्त्रालय अन्तर्गत रहेका प्रतिष्ठानहरुले सोचे अनुरुप प्रगति गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा सहभागी शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले संघियता जोगाउने जिम्मा मधेस प्रदेशको काँधमा रहेकाले मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई तनमन लगाएर काम गर्न आग्रह गरे । उनले जनतालाई फाइदा पुग्ने गरी मधेसले काम गर्न सकेन भने संघियता नै धरापमा पर्ने खतरा रहेको तर्फ सचेत गराए ।