एसपी रिपोर्टर
जनकपुरधाम, साउन ८ : मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृसङ्गठनहरूको संयुक्त बैठक दलित सरोकार मञ्च, नेपालका कायकारी निर्देशक भोला पासवानको अध्यक्षतामा जनकपुरस्थित मशाला कटेजमा बसेको बैठकले दलित भातृसङ्गठनका सबै दलको प्रतिनिधि सम्मिलित मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिमा समाजवादी दलित मुक्ति सङ्गठनका कार्यवाहक अध्यक्ष रामो महराको संयोजकत्वमा गठन गरेका छन् ।
समितिले दलितका जुनसुकै समस्या समाधानका लागि एकजुट भएर सङ्घर्ष गर्ने निर्णय गरेको छ। विशेषगरी प्रस्तावित सङ्घीय निजामती ऐन संशोधनको प्रक्रियामा रहेको निर्वाचन ऐन तथा सम्पूर्ण क्षेत्र र तहमा संविधानले गरेको परिकल्पना गरे अनुरूप समावेशी र समानुपातिक आधारमा दलित प्रतिनिधित्वका लागि जुनसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता संयोजक महराले व्यक्त गरेको छ ।
यस्तै, सबै निकायमा हुने समावेशी र समानुपातिक दलित सहभागिता मध्ये पनि मधेसी दलितको संविधानको धारा ४० को उपधारा ७ बमोजिमको जनसङ्ख्याका आधारमा प्रतिनिधित्वका लागि सम्पूर्ण शुभेच्छुक र समर्थकको समेत सहयोगमा हरदम लागि पर्ने निर्णय पनि भएको छ। समग्रमा दलित समुदायको हक अधिकार प्राप्ति तथा समुदाय माथि भइरहेको अन्याय अत्याचारविरुद्ध एकजुट भएर लागि पर्ने प्रण सबैजनाले गरेका छन् ।
सो समितिमा सम्पूर्ण राजनितीक दलको भातृसङ्गठनका प्रतिनिधिहरुको उपस्थितिबाट सदस्यहरु समाजवादी दलित मुक्ति सङ्गठनबाट शोभित पासवान, नेपाल दलित मुक्ति मोर्चाबाट लवकुश बैठा, विनोद महरा, नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट पञ्चदेव खड्ग, अशोक मण्डल, नेपाल दलित मुक्ति सङ्गठनबाट रामआशीष दास, ममता विश्वकर्मा, नेपाल दलित सङ्घबाट रामवरण पासवान, रामएकवाल पासवान, बहुजन एकता मञ्चबाट राजाराम पासवान र लोकतान्त्रिक समाजवादी दलित संघबाट सुनिता मेस्तर रहने गरि समिति गठन गरेको छ ।





