एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ :
जनकपुरधाममा मिट हाउस (रक्सी पसल) र अस्पतालको संख्या अव उस्तै उस्तै छ । जरी गल्ली पिच्छे रक्सी पसल भेटिन्ट त्यसरी नै अस्पतालहरुको बिगबिगी पनि बढदै गएको छ । जनकपुरधामको रामानन्दचौकको मुख्य राजमार्ग सडकमै अवस्थित सुरक्षा अस्पतालमा भएको पछिल्लो घटना र त्यसपछिको अस्पतालको अवस्थाले स्पष्ट हुन्छ अस्पताल र चिकित्सकको लापरवाही ।

एसपी खवरले सुरक्षा नामक सो अस्पतालमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपलेश्वरकी करिव ३० वर्षकी सोनिया साहको समान्य पाठेघरको शल्यक्रियाका क्रममा अनायासै मृत्यु भएको घटना सम्बन्धमा बुझन खोज्दा आधा दर्जन चिकित्सकहरुले पाठेघरको शाल्यक्रियामा विरामीको मृत्यु हुनु अस्वभाविक रहेको बताए । नाम उल्लेख नगर्न भन्दै चिकित्सकहरुले जनकपुरधाममा डा. पिच्छे अस्पताल खुल्नु दुखदायी रहेको बताए ।

३० वर्ष भन्दा कम उमेरकी विरामीको पनि पाठेघरको शल्यक्रिया धमाधम हुनु चिकित्सकीय मान्यता विपरित रहेको र कमिशनको धन्दा रहेको उनीहरुले पनि स्वीकारे । हाम्रो पेशागत एकता र संगठनात्मक आचरण विपरित बोल्न मिल्दैन सर, एकजना चिकित्सकले भने, ‘तर के भन्नु यहाँ उपचार होइन व्यापार भइरहेको छ ।’ जनकपुरधाममा मात्र कमिशनको कारण शल्यक्रिया प्राथमिकतामा पर्ने गरेको, बिना पुर्वाधार पनि अस्पतालहरुले शल्यक्रिया गर्ने गरेको भएपनि सम्बन्धित निकाय र प्रशासन मौन रहेको उनीहरुको तर्क छ ।

यस्ता प्रवृतीले राम्रा चिकित्सकहरुको इमेज समेत खस्किदै गएको र विरामीले सबैलाई एकै नजरले हेर्न थालेको उनीहरुको दु:खेसो छ । जनकपुरको रामानन्द चोकमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सरोज ठाकुरले सँचालन गर्दै आएको जनकपुर सुरक्षा अस्पताल विरुद्ध मृत्यु भएकी सोनिया साहको परिवार सुरक्षा अस्पताल विरुद्ध अदालत जाने भएका छन् । डरले अस्पतालका चिकित्सक देखि सबै फरार भएपछि अस्पतालमा ताला झुन्डिएको छ ।

शनिबार अस्पताल प्रशासन र उनको परिवारबीच छलफल भएको थियो । तर, मृतकको परिवारले अदालत नै जाने निर्णय लिएको धनुषाका प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रसाद गौतमले जनाए । मृतकको शव परिवारले बुझिसकेका छन् । प्रहरीले मुचुल्का उठाएपछि मुद्दा दर्ता गरिनेछ ।

गत बुधबार कपिलेश्वरकी सोनिया पाठेघरको शल्यक्रिया गराउन अस्पताल भर्ना भएकी थिइन् । सोनियाको शुक्रबार अस्पतालमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारजनले अस्पताल अगाडि शव राखेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रशासनले अस्पतालमा तालाबन्दी गरेको थियो । सुरक्षा अस्पतालले विरामी लाई असुरक्षा मात्र होइन ज्यान नै लिएपछि गाँउबाट जनकपुरधाम आउने विरामीहरु त्रसित छन् ।