एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ :
कांग्रेसजनले जननायक समेत भन्ने नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोइराला (बिपी) को ४१ औं स्मृती दिवस मनाइदै छ । सो अवसरमा जनकपुरधाम वडा नं. ८ ज्ञानकुप स्थित श्री याज्ञवल्क्य नमुना उच्च माविमा नेपाली कांग्रेसले वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीको जनकपुरधाम उपमहानगरपालिका समितिद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातीका गरि करिव पाँच दर्जन फलफुलका विरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा पुर्वमन्त्री रामसरोज यादवले बिपी जस्ता दुरदर्शी नेताको अभावकै कारण कांग्रेसले चुनौतीपुर्ण अवस्थाको सामना गर्न परिरहेको बताए ।

यादवले बिश्व समुदायको उदाहरण दिदै महान व्यक्तित्वहरुको अव स्मृती भन्दा पनि जन्मोत्सव मात्र मनाइने गरेको तर्फ ध्यानाकर्षण गराउदै अगामि भदौ २४ गतेमा महामानव बिपी कोइरालाको जन्मोत्सव स्मृती दिवस भन्दा पनि भब्य रुपमा मनाउन आग्रह गरेका छन् । कार्यक्रममा जनकपुरधामका प्रमुख मनोज कुमार साहले बिपी कोइरालाले देशमा हुने चुरे बिनाश त्यसको प्रभावको बिषयमा उहिलेनै कल्पना गरिसकेको बताउदै आफु चुरेबाट जनकपुरधामवासीको घर घरको धारामा पानी ल्याउन पहलकदमी लिएको बताए ।

भन्न त हतार होला तर आज म भन्दै छु, उनले भने, ‘मिथिला, क्षिरेश्वरनाथ र लक्ष्मीनियाँ पालिकाले साथ दिए म चुरेबाट पानी ल्याएर जनकपुरधामको घर घरको धारामा पुरयाउन सक्दछु ।’ कांग्रेसजनले बिपीलाई भाषणमा मात्र होइन व्यवहारमा समेत उर्तान सके उहि कांग्रेस दोहरिने वक्ताहरुले बताएका थिए । सो अवसरमा उपप्रमुख किशोरी साह, वरिष्ठ पत्रकार रामभरत साह, नेताहरु जिवनाथ चौधरी, गणेश तिवारी सहित, वडा अध्यक्षहरु, कांग्रेसका वडा सभापतीहरु, विभिन्न क्लवका नेतृत्वकर्ताहरु, ज्ञानकुप संस्कृत विद्यालयका प्र.अ. संजय कुमार झा सहितको उपस्थिती थियो ।