एसपी रिपोर्टर

जनकपुरधाम, साउन ४ : जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरीका घटनामा संलग्न ३० जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोटरसाइकल चोरी, ब्याट्री चोरी, हेल्मेट चोरसम्म रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अन्तगर्त दर्जनौ चोर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ पर्नेहरु १७ वर्षदेखि ३८ वर्षसम्मका व्यक्ति रहेका छन् । पक्राउ पर्नेमा केही पेशेवर चोर रहेको र अधिकांश कम उमेरका चोरहरु रहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

चोरीको आरोपमा जयप्रकाश यादवलाई तेस्रो पटक पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका देउरी परवाहाका यादवले आफू करिब १०÷११ वर्षको हुँदादेखि नै चोरी गर्दै आईरहेको बयान दिएका छन् ।

यस्तै, ३५ वर्षीय कृष्णकुमार मिश्रलाई प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा नियन्त्रणमा लिएको थियो । मिश्र पनि यसअघि पटक–पटक चोरी आरोपमा पक्राउ पर्दै आएका छन् । तर, पीडितले जाहेरी नदिएपछि उनीहरुमाथि प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्दा चाँडै छुट्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

धनुषा प्रहरीले गत आर्थिक वर्षमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ । ३६५ वटा मोबाइल चोरीको निवेदन परेकोमा २६० वटा फेला पारी बुझाइएको प्रहरीले जनाएको छ ।