एसपी रिपोर्टर

जनकपुरधाम, साउन ३ : मिटरब्याजी आरोपमा पक्राउ परेका धनुषाधाम नगरपालिका कजरा गाउँ निवासी शिवजी यादबले आपसी मिलामतोमा पक्राउ गरेर रिहा गरेको मिटरब्याजी पिडीतहरुले आरोप लगाएका छन ।

बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी मिटरब्याजी पिडित धनुषाधाम निवासी राकेश साहले पटक पटक पक्राउ पर्दै आएका मिटरब्याजी आरोपित शिवजी यादव राजनीतिक प्रभावमा छुट्दै आएको थियो । मिटरब्जायी सम्बन्धी उजुरी पश्चात फरार रहेका आरोपित शिवजीलाई नियन्त्रणमा लिई प्रहरीको जम्मा लगाएपनि प्रहरीले कारवाही गर्नुको सट्टा केही बेरमै छोडेर आफूसँग अन्याय गरेको राकेशले गुनासो गरे ।

करोडौ रुपैया बराबरको मिटरब्याजका आरोप लागेका शिवजी यादवलाई ईलाका प्रहरी कार्यालय धनुषाधामले विहानै पक्राउ गरेर कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । तर जिल्ला प्रशासन कार्यालय पदाधिकारीले उनलाई मुद्दामाथि कुनै चासो नलिई छाडेको आरोप मिटरब्याजी पिडीतहरुले पत्रकार सम्मेलनमा आरोप लगाए ।

गाउँ घरमा सोझासाझा मानिसहरुलाई ब्याजमा पैसा लगाई ब्याज तिरिदिएको भएपनि कागजात नच्यातेर कैयौँ पटक रकम लिइसकेपछि धरौटी वापत रजिष्टरी गरिएका जग्गा विक्री गरिदिने र माग्न जाँदा उल्टै मुद्दा हाल्ने लगायतका कार्य गर्दै आएको आरोप धनुषाधाम ९ निवासी राजकिशोर साहले लगाए ।

धनुषाधाम स्थित शिवशंकर वस्त्रालय सँचालन गर्दै आएका यादव गाउँका सोझासाझा मान्छेलाई पहिला ऋण दिएर जालमा फंसाउने धरौटी वापत जग्गा रजिष्ट्री गर्ने र पछि ब्याजसहित ऋणवापतको रकम लिइसकेपछि जग्गा बिक्री गरिदिने कार्य गर्दै आएको उनीहरुको आरोप छ ।

शिवजी यादवबाट धारापानीको करोडौ रुपैया पर्ने जग्गा राखेर २५ लाख रुपैयाँ ऋण लिएको राकेशले आफू ऋण वापत १२ लाख रुपैया चुक्ता गरिसकेको र केही दिनपछि हरहिसाब गरी जग्गा फिर्ता गर्न पटक पटक माग गर्दापनि सो जग्गा बिक्री गरिदिएको दुखेसो सुनाए । उनले समयमा पैसा नलिएर करिब ४ करोड मूल्य बराबरको जग्गामा लोभ गरेपछि उनीविरुद्ध मिटरब्याजको मुद्दा दायर गरिएको बताए ।

यसैबीच मिटरब्याजका आरोप लागेका शिवजी यादवले राकेश साह नेतृत्वका चार जना व्यक्तिले आफूमाथि संघातिक आक्रमण गरेको आरोप लगाएका छन ।

उनले पनि एक पत्रकार सम्मेलन आयोजना गरी धनुषाधामबाट जनकपुरधाम आउने क्रममा शिसमपुर चौकमा राकेश साहको नेतृत्वमा नागेश्वर साह, राजेश साह र समोद साह सहितका व्यक्तिले आफूलाई निर्घात रुपमा कुटपिट गरेको आरोप लगाए ।

उनले भने शिसमपुर चौकमा राकेश साह सहितका व्यक्तिले आफूलाई गाडीबाट झारेर हेलमेट र लातीमुक्का कुटपिट गर्दै आफूसँग रहेका ९५ हजार रुपैया र मोबाइल समेत लुटेर इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

मिटरब्याज सम्बन्धी तपाईमाथि आरोप रहेको बारे उनले आफूमाथि आक्रमण गर्नेहरुसँग लेनदेन सम्बन्धी कुनै सरोकार नरहेको दाबी गर्दै व्यक्तिगत इष्र्याको कारण आक्रमण गरेको बताए । उनले भने ईलाका प्रहरी कार्यालयमा गएपछि आफूमाथि मिटरब्याजको मुद्दा परेको थाहा पाए ।

आफूमाथि मिटरब्याजीको उजुरी दिने राकेशबीच कुनै प्रकार लेनदेन नरहेको बताउंदै शिवजीले भने धनुषामा आफ्नो पसल राम्रो चलिरहेकाले त्यहाँबाट हटाउन व्यक्तिगत इष्र्यामा आफूमाथि आक्रमण गरेर प्रहरीको जिम्मा लगाएको हो । साथै उनले आफू न्यायका लागि अदालतसम्म जाने चेतावनी समेत दिएका छन् ।