एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
जनकपुरधामस्थित कपिलेश्वर महादेव मन्दिरमा लाग्ने श्रावण पुजनोत्सव मेलाको पूर्वसन्ध्यामा कलशयात्रा निकालिएको छ । शनिवार मेला आयोजक श्री कपिलेश्वरनाथ युवा कमिटीको नेतृत्वमा कलशयात्रा निकालिएको हो । मन्दिरबाट निस्किएको कशलयात्रा रेल्वे स्टेशन, भानुचोक, मिल्स एरिया, देवी चोक, जानकी मन्दिर हुँदै गंगासागर पुगेको थियो ।

कलशयात्रामा सहभागी भक्तजन, साधु, सन्तलगायतले गंगासागरबाट कलश भेरर मन्दिरमा स्थापना गरेका थिए । यात्रामा कमिटीका अध्यक्ष मनोजकुमार साह, पूर्वअध्यक्ष सुधिर पजियार, तुलसी पजियार, वडा अध्यक्ष रामचन्द्र पजियारलगायत पनि सहभागी भएका थिए । मन्दिरमा श्रावण १ गते सोमवारबाट लाग्ने मेला लाग्ने भएको छ । त्यस्तै, प्रत्येक दिन सांझ महादेव सन्ध्या आरती गरिने पनि आयोजकले जनाएको छ ।

सो अवसरमा प्रतिनिधीसभा सदस्य जुली महतो, जनकपुरधामका पुर्व मेयर लालकिशोर साह, मधेशकी पर्यटन मन्त्री सुनिता यादव, प्रदेश सांसद दिपेन्द्र ठाकुर, जसपा नेता पशुपती यादव, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ जनकपुरधाम बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, एमाले नेता शिवशंकर साह हिरा, सुरेन्द्र भण्डारी सहितका मन्दिर पुगेर कलशयात्रामा सहभागि भएका थिए ।