एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
मधेश प्रदेशका निजामती कर्मचारीहरूको विवरण अध्यावधिक गर्नका लागि राष्ट्रिय किताब खानाले वैज्ञानिक सूचना प्रणाली पोर्टल आज हस्तान्तरण गरेको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र पोर्टलको हस्तान्तरण कार्यक्रममा बोल्दै यसबाट प्रदेशमा निजामती कर्मचारीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै विवरण लिन काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले यस पोर्टलको सञ्चालनले मधेश प्रदेशमा निजामती कर्मचारी तथा स्थानीय तहमा खटेका निजामती कर्मचारीहरूको सेवामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख मिश्रले पिआईएस प्रणालीले कर्मचारीहरूको नियुक्ति देखिको सम्पूर्ण विवरणहरू समावेश र सुरक्षित रहने बताउँदै पोर्टलले सूचना क्यानको रुपमा काम गर्ने बताउनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले निजामती किताब खानाले मधेश प्रदेशमा वैज्ञानिक सूचना प्रणालीको हस्तान्तरणले निजामती कर्मचारीको सम्पूर्ण विवरण प्रदेशमा नै सुरक्षित रहने बताउनु भयो । उहाँले मधेश प्रदेश सरकारले १ महिना भित्रमा नै स्थानीय तहको विधेयक प्रदेशबाट पारित गरेर प्रदेशमा रिक्त रहेको दरबन्दीमा प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गराउने पक्षमा प्रदेश सरकार रहेको बताउनु भयो ।

मुख्यमन्त्री यादवले सातवटै प्रदेश मध्ये सबैभन्दा पहिला नै निजामती ऐन ल्याउने मधेश प्रदेश भएको बताउँदै अव निजामती कर्मचारीको हकहित पेशाको सुरक्षा सहितको कामकाज गर्नका लागि प्रदेश सरकार अगाडी बढेको बताउनु भयो । मधेश प्रदेशका लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले मधेश प्रदेशको निजामती कर्मचारीका लागि वैज्ञानिक सूचना प्रणालीको हस्तान्तरण निक्कै महत्वपूर्ण भएको बताउँदै यसले निजामतीको कर्मचारीको विवरण अध्यावधिक हुने बताउनु भयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले पिआइएस प्रणालीको हस्तान्तरणले मधेश प्रदेशका निजामती कर्मचारीहरूको विवरण प्रदेशमा नै सुरक्षित रहने भएकाले अव केही जानकारी लिनका लागि काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले मधेशका निजामती कर्मचारीहरूको विवरण प्रदेश राजधानीमा नै रहने भएकाले यसले निजामती कर्मचारीको मनोबल बढ्ने बताउनु भयो ।

राष्ट्रिय किताब खाना उपमहानिर्देशक सुशीला अर्यालले प्रदेशका कर्मचारीहरूको विवरण अध्यावधिक गर्ने पोर्टल हस्तान्तरण भएपछि यसले निजामती कर्मचारीलाई सुविधा पुग्ने बताउनु भयो । उहाँले यस अघि किताब खानाले बागमती, गण्डकी र कोशी प्रदेशमा हस्तान्तरण गरिसकेको बताउनु भयो । कार्यक्रममा मधेश प्रदेशका निमित्त प्रमुख सचिव किशोर कुमार चौधरीले पिआईएस पोर्टलको हस्तान्तरणले निजामती कर्मचारीको मनोबल बढ्ने आशा व्यक्त गर्नु भयो ।