एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले क्रान्ति बिना कुनै पनि देशमा शान्तिको अर्थ नरहेको भन्दै क्रान्तिमा सहभागि भएर सहादत दिएका शहिद र द्धन्द्धपिडितहरुको सम्मान हुनुपर्ने बताएका छन् ।
महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरकारको भुमिका र हाम्रो दायित्व विषयक जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले यस्तो बताएका हुन ।
द्वन्द्व पिडितहरुको पहिचान हुँदा राज्य र आन्दोलनकारी दुवै पक्षद्वारा मारिएकालाई द्वन्द्व पिडित भनिनु पर्छ भन्ने सहभागिहरुले उठाएको सवालमा सभामुख मण्डलले त्यसका लागि बनाइएको कानुुन र विधी सबैले मान्नुपर्ने बताए । सो अवसरमा सहभागिहरुले द्वन्द्व पिडितहरु भन्ने वितिकै राज्यद्वारा मारिएकालाई भनिने गरेको भन्दै माओवादीद्वारा मारिएकाहरुलाई पनि द्वन्द्व पिडित भन्नु पर्ने सवाल उठाएका थिए ।

सो अवसरमा द्वन्द्व पिडित महिला राष्ट्रिय सञ्जालकी केन्द्रिय अध्यक्ष सृजना श्रेष्ठले द्वन्द्व पिडितहरुको सवाल र तिनै तहको सरकार बिच समन्वयको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन भने सञ्जालकी मधेश प्रदेश सहअध्यक्ष सुमरिया देवीले स्वागत मन्तब्य राख्ने क्रममा द्वन्द्व पिडितहरुलाई सरकारले बेवास्ता गरिरहेको भन्दै धुरधुरी रुदै आफनो पिडा पोखेकी थिइन ।
कार्यक्रममा सहभागिहरुले द्वन्द्व पिडितका रुपमा महिला र बालबालिका सवै भन्दा बढि पिडित रहेका बताउदै प्रदेश र स्थानिय तह सरकारहरुले राहतका कार्यक्रम चलाउनुपर्ने बताएका थिए । कार्यक्रममा सञ्जालकी मधेश प्रदेश अध्यक्ष फुलकुमारी महतो, मधेश प्रदेशका गृह निम्ति सचिव उत्तम प्रसाद खरेल, चिकित्सकका अगुवाहरु डा. अंकुर साह, डा. रामनरेश पण्डित, जनकपुरधाम र गणेशमान चारनाथका उपप्रमुखद्वय किशोरी साह र तुलसा कुमारी पाण्डे, टेलिभिजन प्रशारक संघका अध्यक्ष विष्णु कुँवर, नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष राजेश कुमार कर्ण, एडभोकेसी फोरम मधेशका अध्यक्ष राजकुमार महासेठ सहित विभिन्न क्षेत्रका अगुवाहरुको उपस्थिती थियो ।





