एसपी रिपोर्टर
जनकपुरधाम, असार १३ :
नेपाल रेल्वे कम्पनी लिमिटेडले निर्धारण गरेकोभन्दा मुआब्जा कम दिन लागिएको रेल्वे मुआब्जाबाट पीडितहरुले आरोप लगाएका छन् ।
बुधबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालयमा जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्रैक विस्तारका क्रममा जग्गा परेका जग्गाधनीहरुले मुआब्जा कम मुआब्जा दिन लागेको आरोप लगाएका हुन् ।
रौतहट चन्द्रनगरका उदय सापकोटाले आफ्नो जग्गा मिथिला नगरपालिका वडा नम्बर ९मा रहेको र सो जग्गा रेल्वे ट्रैक निर्माणकालागि अधिग्रहण गरिएको बताए । यद्यपि नेपाल सरकारले निर्धारण गरेको वर्गिकरणको आधारमा मुआब्जा नदिने भएपछि गत वर्षदेखि नै कार्यालय धाईरहेको उनले दुखेसो पोखे । उनका अनुसार लालगढका १३÷१४ जना जग्गाधनीहरु जग्गा कुन वर्गिकरणमा पर्ने खुलाई दिन भनी निवेदन दिएपनि त्यसको कुनै सुनवाई नगरिएको आरोप लगाए ।
गोरखापत्रमा प्रकाशित एक सूचनाका अनुसार मिथिला नगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकबाट लालगढ जाने बाटो भित्र ५० मिटरसम्मका जग्गालाई ३५ लाखको कठ्ठाको दरले मुआब्जा दिइने भनिएको छ । तर घुस दिन नमानेपछि आफूहरुको जग्गाको मूल्यांकन घटाएर ९ लाखको कठ्ठाको दरले मुआब्जा दिन लागिएको सापकोटाले गुनासो गरे । उनले भने ‘यहाँका कार्यालय प्रमुखलाई प्रति कठ्ठा २ लाख रुपैयाँ घुस दिन नमानेपछि आफूहरुको जग्गाको मूल्यांकन घटाइएको छ, जुन हामीलाई मान्य छैन ।’
यता रेल्वे विभागका साइट ईन्जिनियर विनोद ओझाले मुआब्जा वितरणको कार्य अन्तिम चरणमा रहेको केही जग्गाधनीहरु मात्रै बाँकी रहेको बताए । उनले मुआब्जा निर्धारण समितिले तोकेको अनुसार नै आफूहरुले भुक्तानी गरिरहेको जानकारी दिए । यद्यपि उनीहरुलाई जग्गा वर्गिकरणमा चित्त नबुझेकै कारण अहिलेसम्म मुआब्जा वितरण नभएको बताए । उनले भने ‘ती जग्गाधनीहरुको वर्गिकरणमा चित्त बुझेको छैन यसमा परिवर्तन हामीले गर्न सक्दैनौँ ।’





