एसपी रिपोर्टर
जनकपुरधाम, असार १३ :
नेपाल सरकारले आलु प्याजमा समेत मूल्य अभिवृद्धि कर लगाए लगत्तै जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलित छन् । जनकपुरधामका आलु प्याज व्यापारीहरुले आलु प्याजमा लगाइएको कर बिरुद्ध गरिरहेको आन्दोलन अन्तर्गत बुधबार जुलुश निकालेका छन् ।
जनकपुरधामको पेठिया बजारबाट निकालिएको जुलुश जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । व्यापारीहरुले जुलुशमा आलु प्याजमा लगाइएको कर फिर्ता गर, खुल्ला सीमा नाका बन्द गर लगायतका नारा लगाएका थिए ।
आलु प्याजका व्यापारीहरुले निकालेको जुलुशमा सहभागी भएका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सरकारले आलु प्याज लगायतका दैनिक उपभोगका वस्तुहरुमा लगाइएको कर फिर्ता नगरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए । उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि करको भर नपर्नु हुने बताए । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि जनताको ढाड सेक्ने गरी कर लगाएर कदापी सम्भव नहुने उनको भनाई थियो ।
सरकारले आलु प्याजमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नलिएसम्म आन्दोलन यसै गरी जारी रह्ने आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष आलउद्दिन अन्सारीले चेतावनी दिए ।
यता बुधबार बिहान व्यापारीहरुको आन्दोलनका बिच आलु प्याजको कालोबजारी समेत बढ्दै गईरहेको छ ।
बुधबार बिहानै जनकपुरधामका आलु प्याज व्यापारीहरुले भारतीय सीमानाका भएर अवैध रुपमा ल्याइएको आलु प्याज आलु प्याज नियन्त्रणमा लिएको छ । जनकपुरधामस्थित रेल्वेको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले कपिलेश्वरबाट अवैध रुपमा ल्याउँदै गरेको आलु प्याज नियन्त्रणमा लिएको थियो । तर सशस्त्र प्रहरीले सो आलु प्याज छोड्न लागेको सूचना पाए लगत्तै व्यापारीहरुले आलु प्याज नियन्त्रणमा लिई भन्सारमा बुझाउन दवाब दिएका छन् ।
महिनाथपुर सीमानाका भएर ७ बोरा आलु र २ बोरा प्याज ल्याईरहेको अवस्थामा प्रहरीले टेम्पो सहित सो समान बरामद गरेको थियो । आफूहरु टेम्पो मात्रै छोड्ने र आलु प्याज मात्रै भन्सारमा बुझाउन लागेपछि व्यापारीहरुले टेम्पो पनि भन्सारमा बुझाउन दवाब दिएपछि टेम्पो पनि भन्सारमा बुझाउन लागेको प्रहरीले जनाएको छ ।
यसरी आलु प्याजको कालोबजारी बढ्दै गएपछि आफूहरुको आन्दोलनलाई प्रभावित पारिरहेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष ध्रुव साहले बताए । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म यो आन्दोलन जारी रह्ने उनले चेतावनी दिए । केही दिन यतादेखि जनकपुरधामका आलु प्याज व्यापारीहरुले आलु प्याजको बिक्री पूर्ण रुपमा बन्द गरेका छन् ।





